कारागारमा रविलाई भेटेपछि बाबुरामले भने– ‘थुनामुक्त गरेर मुद्दा लड्न दिनुपर्छ’


बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जिल्ला कारागार भैरहवा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् ।
लुम्बिनी प्रदेशस्तरीय बैठकमा सहभागी हुन जाने क्रममा उनले आज बिहान लामिछानेलाई भेटेका हुन् ।
भेटपछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले निर्वाचित सांसद भएकाले लामिछानेलाई थुनामुक्त गरेर मुद्दा लड्न दिनुपर्ने तर्क गरे । उनले लामिछाने भाग्ने वा थप अपराध गर्ने सम्भावना नभएकाले थुनामा राखिरहनु आवश्यक नभएको बताए ।
भट्टराईले कारागारमा लामिछानेलाई पत्रपत्रिका उपलब्ध नगराइएको र सानो कोठामा एक्लै राखिएकोमा पनि असन्तुष्टि व्यक्त गरे ।
उनले यस विषयमा माथिल्लो निकायमा कुरा गर्ने पनि बताए । उनले लामिछानेलाई भेट्न सद्भावका लागि आएको र सरकारले उनीमाथि प्रतिशोध साँधेको आरोप पनि लगाए ।
Facebook Comments