युवतीलाई भारतमा लगेर मिर्गौला बेच्ने गिरोह पक्राउ


काठमाडौं । युवतीलाई भारतमा होटलको काम लगाइदिने प्रलोभन देखाएर मिर्गौला बेच्ने गिरोहका तीन सदस्यलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकका राजकुमार परियार, नुवाकोटका समीर नेपाली र राकेश नेपाली रहेका छन् । उनीहरूले गत जेठ महिनामा एक युवतीलाई महिनामा १० देखि २० हजार रुपैयाँको जागिरको प्रलोभन देखाएर भारतको चण्डीगढ पुर्याएका थिए ।
प्रहरीका अनुसार, भारत पुर्याएको भोलिपल्टै उनीहरूले ती युवतीको मेडिकल चेकअप गराए र मिर्गौला बेचेबापत ६ लाख रुपैयाँ दिने प्रस्ताव राखे । युवतीले अस्वीकार गरेपछि उनीहरूले मानसिक दबाब दिएर साउन ९ गते उनको बायाँ मिर्गौला निकाले ।
युवतीको उजुरीका आधारमा उक्त गिरोहलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार, यो गिरोहले नेपाल र भारतमा बसेर आर्थिक रूपमा कमजोर मानिसहरूलाई प्रलोभनमा पारी मिर्गौलाको अवैध कारोबार गर्दै आएको थियो ।
Facebook Comments