प्रहरीको बन्दोबस्ती सामान खरिदमा अनियमितता भएपछि छानबिन सुरु


काठमाडौं । नेपाल प्रहरीले बन्दोबस्तीका सामान खरिदका लागि आह्वान गरेको बोलपत्रमा मिलेमतो भएको आरोप लागेपछि छानबिन सुरु भएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले उजुरीका आधारमा सहसचिव विनोद कोइरालाको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
कार्यालयका प्रवक्ता रामबन्धु सुवेदीका अनुसार, केही सीमित ठेकेदार कम्पनीलाई मात्रै ठेक्का पार्न खोजिएको भन्दै कार्यालयमा उजुरी परेको थियो ।
यस्तै, भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेपछि अख्तियारले पनि छानबिन गर्न निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले साउन १२ गते झुल, म्याट्रेस, बर्दी, ज्याकेट, पाल लगायतका विभिन्न बन्दोबस्तीका सामान खरिदका लागि बोलपत्र आह्वान गरेको थियो ।
प्रवक्ता सुवेदीले समितिको प्रतिवेदन र सिफारिसअनुसार कार्यालयले आवश्यक निर्णय लिने बताएका छन् ।
Facebook Comments