तीन दिनपछि कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे


सुदूरपश्चिम । कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा परी मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको शव परिवारले बुझेका छन् ।
प्रमुख जिल्ला अधिकारीबाट मृतकका परिवारले राखेका माग सुनुवाइ गर्न सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धतापछि आज मृतकका परिवारले शव उठाएका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।
उनले भने, “मृतक परिवारका केही माग प्रदेश सरकारले सम्बोधन गर्ने भनिसकेको छ । मृतकका बच्चालाई निःशुल्क पढाउनुपर्ने मागबारे प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निकायमा कुरा गर्ने भनेपछि उहाँहरू सहमत हुनुभयो ।”
दोषीमाथि कारबाही गर्नुपर्ने र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित मृतकका परिवारले आज बिहानसम्म शव बुझ्न मानेका थिएनन् । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार साँझ मृतक चौधरीका परिवारलाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको थियो ।
कैदीबन्दीबीच बन्दीगृहमा शुक्रबार राति भएको झडपपछि घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका अन्य ४५ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते कर्ण सलामीमगर र आयुस भट्टको काठमाडौँमा उपचार भइरहेको छ ।
धनगढीमा उपचाररत अर्का घाइते कल्पेस विष्टलाई थप उपचारका लागि आज काठमाडौँ सिफारिस गरिएको कारागार शाखाका जालान्दर भुसालले जानकारी दिए । घटनापछि कारागार व्यवस्था विभागले भुसाललाई केही समयका लागि दुई दिनअघि कैलाली कारागारमा खटाएको छ ।
यहाँ घटनाको छानबिनका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । कारागारको अवस्था सामान्य बन्दै गएको समितिका सदस्य सचिव एवं प्रशासकीय अधिकृत जोशीले बताएका छन् ।
Facebook Comments