माओवादी नेता गगन पुरीसहित ९ जनाले सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको ठहर

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Rewatraj_Puri_gagan.jpg

काठमाडौं । नेकपा माओवादीका नेता रेवतराज पुरी भनिने गगन पुरीसहित ९ जनाले सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको ठहर भएको छ । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले पुरीसहित ९ जनाले झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर भ्रष्टाचार गरेको ठहर गरेको हो ।

झापाको दमक नगरपालिका वडा नं १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियाविरुद्ध मुद्दा दायर भएको थियो । 

यसअघि पनि विशेष अदालतले पुरीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो । गगन र उनकी श्रीमती सीमाको नाममा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ अवैध सम्पत्ति भेटिएकोले दुवै जना सम्पत्ति शुद्धीकरण ऐनअनुसार दोषी ठहर भएका थिए। 

झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

नेता पुरीकी श्रीमती केशावती पुरी, आफन्त मनमाया पुरी, देवकुमार पुरी, कृष्णकुमार पुरी र संगीता पुरीलाई प्रतिवादी बनाइएको थियो। पुरीले सरकारी जग्गा हडपेको भन्दै उनी विरुद्ध १२ करोड १३ लाख ७२ हजार १७८.८६ रूपैयाँ बिगो दाबी गरिएको थियो।

यो मुद्दामा मनमाया पुरी र देवकुमारी पुरीले सफाइ पाएका र कृष्णकुमारी पुरी र सं‌गीता पुरीको नामको जग्गा जफत नहुने फैसला भएको थियो।

 


Facebook Comments