वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध उत्खनन


पर्वत । वर्षायामको असारदेखि भदौसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भए पनि पवित्र कालीगण्डकीमा अवैध उत्खनन बढ्दै गएको छ । जिल्ला समन्वय समिति, पर्वतको अनुगमन टोलीले पर्वत खण्डमा गरेको निरीक्षणका क्रममा यो तथ्य फेला परेको हो ।
जिल्ला समन्वय समितिका संयोजक विष्णुराम विकको नेतृत्वमा गएको टोलीले राममन्दिर घाटदेखि दमुवाखोलासम्म अनुगमन गर्दा १० स्थानमा अवैध रूपमा बालुवा उत्खनन भइरहेको भेट्टाएको छ । अनुगमनका क्रममा टोलीले नम्बर प्लेट नभएको एउटा एक्साभेटर र करिब १४ हजार घनमिटर बालुवा जफत गरेको छ ।
अवैध उत्खनन गरेको बालुवाको नापजाँच गर्दा जलजला गाउँपालिकाले करिब डेढ करोड रुपैयाँ जरिवाना असुल गर्नुपर्ने देखिएको छ । अनुगमन टोलीले जरिवाना असुल गर्न जलजला गाउँपालिकालाई निर्देशन दिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले अवैध उत्खनन रोक्न नगर प्रहरी परिचालन गरिएको बताए पनि लुकीछिपी उत्खनन गर्नेहरूलाई प्रहरी प्रशासन र जिल्ला अनुगमन समितिले कारबाही गर्नुपर्ने अपेक्षा व्यक्त गरे ।
यसअघि सर्वोच्च अदालतले चार वर्षसम्म नदी उत्खननमा रोक लगाएको थियो, तर गत कात्तिकमा रिट खारेज भएपछि पुनः उत्खनन सुरु भएको हो ।
Facebook Comments