सभापोखरी गाउँपालिका १ र २ वडाका ४ सय घरमा खानेपानीको पहुँच

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dhara dhupu.jpg

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ र २ वडाका ४०० घरधुरीमा ‘एक घर, एक धारा’ को पहुँच पुगेको छ । सभापोखरी गाउँपालिकाले दातृ निकायका सहयोगमा सञ्चालित परियोजना अन्तर्गत हालसम्म ७२८ घरधुरीमध्ये ४०० घरमा धारा जडान भइसकेको हो ।

पहिले कुवा वा अन्य प्राकृतिक मुहानबाट पानी भर्ने बाध्यता रहेकोमा अहिले भने घरमै धारा जडान भएपछि स्थानीयवासीलाई सहज भएको छ । दैनिक दुई घण्टा पानीको जोहोमा समय बिताउने धुपुकी मञ्जु शर्मा अहिले घरमै पानी प्रयोग गर्न पाउँदा खुसी छन् ।

त्यस्तै धुपुकै अर्का स्थानीय केदार अधिकारीले पहिले एक गाग्री पानी ल्याउन तीन घण्टा लाग्ने गरेको सम्झदै भन्छन्, “अहिले बिहान–बेलुकी घरमै पानी पाइन्छ, यस परियोजनाले गाउँको जीवनशैलीमै परिवर्तन ल्याएको छ ।” धुपुका तीन मुहानमा ट्याङ्की निर्माण गरी पाइपमार्फत पानी आपूर्ति गरिएको छ । प्रयोगकर्ताले मासिक ५० रुपैयाँ तीर्ने व्यवस्था गरिएको छ । यसबाट सञ्चालन र मर्मत खर्च व्यवस्थापन हुने जनाइएको छ ।

परियोजनाअन्तर्गत ६ विद्यालयसमेतमा ट्याङ्कीसहित धारा जडान गरेको छ । यसले विद्यार्थीलाई सरसफाइको अभ्यासमा पनि टेवा पुगेको छ ।

स्थानीयवासी सुनिता राईका अनुसार परियोजनापछि महिलाको श्रमभार घट्नुका साथै बालबालिकाको विद्यालय उपस्थिति पनि नियमित भएको छ । पहिले पानीको कारण विद्यालय छुटाउने विद्यार्थी अहिले समयमा पुग्ने गरेको उनले बताइन् । परियोजना दिगो बनाउने उद्देश्यले स्थानीय युवालाई पम्प जडान र  पाइप मर्मतलगायत प्राविधिक तालिम दिइएको छ । यो परियोजनाको अनुमानित लागत तीन करोड ८२ लाख ३५ हजार रुपैयाँ रहेको छ । अन्य वडासमेतमा परियोजना विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ ।


Facebook Comments