प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिस्रीको भेटघाट: हल्ला निम्तोको, चर्चा बस्ने आसनको (भिडिओ)

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/WhatsApp Image 2025-08-18 at 1.32.27 PM.jpeg

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दा बसेको पोजिशनका विषयलाई लिएर नेपालको कुटनीतिक क्षेत्र तथा सार्वजनिक रुपमा टिकाटिप्पणी भइरहेको छ । 

नेपाल भ्रमणको क्रममा रहेका मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री डा। आरजु राणा देउवा लगायतसँग भेटवार्ता गरिसकेका छन् । 

यो रिपोर्ट तयार पार्दासम्म उनी नेपालमै छन् र अन्य भेटवार्ताको लागि पनि दौडधुप गरिरहेका छन् । राष्ट्रप्रमुखदेखि प्रधानमन्त्री र शीर्ष नेताहरुसँग भेटवार्ता गर्दैगर्दा प्रधानमन्त्री ओलीसँगको भेटवार्ताका क्रममा उनले लिएको पोजिशनको विषय भने चर्चाको विषय बन्यो । 

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भारतीय प्रतिनिधि मण्डलसहितको टोलीसहित मिस्रीले प्रधानमन्त्रीलाई भेटेका थिए । उनी भेटको क्रममा उपरखुट्टी लगाएर बसेको तस्वीर सार्वजनिक भएसँगै उनीमाथि टिकाटिप्पणी सुरु भएको छ । उनले सामान्य शिष्टाचार र कुटनीतिक मर्यादाको समेत ख्याल नगरेको भन्दै उनको विरोध गरिएको छ । 

कतिपयले प्रधानमन्त्री ओलीप्रति भारतको राम्रो दृष्टिकोण नभएको भन्दै सोही दृृष्टिकोणको प्रतिविम्बन भेटवार्तामा भएको भनेर छुद्र टिप्पणी समेत गरेका छन् । कुनैपनि व्यक्ति कसैसँग भेटवार्ता गर्दा आफुलाई सहज लाग्नेगरी बस्ने हो । अथवा अन्जानमा कुनै पोजिशल लिइएको पनि हुनसक्छ । तर कुटनीतिक वृत्तमा भने व्यक्तिको हिडाँइ, बोलाइ, बसाइ, मुस्कान अथवा अनुहारको भावलाई पनि मिहिन ढंगले हेरिएको हुन्छ र सोही अनुरुप दृष्टिकोण र धारणाहरु बनाइन्छ । त्यसो त कुटनीतिक भेटवार्तामा के गर्ने ? के नगर्ने ? भन्ने विषयमा विशिष्टहरु मापदण्ड अनुरुप नै चल्ने गर्दछन् । 

सरसर्ति तस्वीरमा हेर्दा भारतीय विदेश सचिव मिस्रीको बसाइ अस्वभाविक नै देखिदैन । चर्को विरोध वा टिकाटिप्पण गरिहाल्नुपर्ने पनि देखिदैन । निश्चय पनि कुटनीतिक आँखाले हेर्ने हो भने छिमेकी देशको एउटा सचिवले कुनै सार्वभौमसत्ता सम्पन्न देशको प्रधानमन्त्रीसँगको भेटवार्तालाई संवेदनशील र गम्भीर रुपमा नलिएका पो हुन् कि भन्ने प्रश्न उब्जिन्छ । तर उनी जानेर त्यसरी बसे वा नजानेर रु यो बसाई केवल एउटा व्यक्तिको सहजताको कुरा भयो वा कुटनीतिक विषय, सो कुरा भने उनै मिस्रीले जानुन् ।

विदेश सचिव मिस्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्ता दिन नेपाल आएका हुन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री ओली आगामी भदौ ३१ गते भारत भ्रमणमा जाने जनाइएको छ । यद्यपी सरकारको तर्फबाट औपचारिक रुपमा भने हालसम्म जानकारी गराइएको छैन ।


Facebook Comments