शैक्षिक गुणस्तर सुधार गर्दै बेदकोट नगरपालिका

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/belcot nagarpalika.png

कञ्चनपुर । चार वर्षअघि यहाँको बेदकोट नगरपालिकाका सामुदायिक विद्यालयको कक्षा १२ को नतिजा कमजोर थियो । पाँच प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । २०७८ सालको परीक्षामा यहाँका पाँचवटा सामुदायिक विद्यालयबाट ५०९ विद्यार्थी परीक्षामा सहभागी थिए । जसमध्ये २८ जना मात्रै ‘सी ग्रेड’मा उत्तीर्ण भए । तीन विद्यालयको नतिजा शून्य थियो । 
 
विसं २०७९ पछि नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्य लिएर काम सुरु गर्यो। पछिल्ला तीन वर्षमा यहाँका सामुदायिक विद्यालयको नतिजामा सुधार भएको छ । २०७९ सालमा उत्तीर्ण दर १० प्रतिशत पुग्यो । ग्रेडमा समेत सुधार भयो । २०८० सालमा विद्यार्थीको नतिजामा थप सुधार भइ २९.४ प्रतिशत प्राप्त भयो । उक्त सालको परीक्षामा ३५० विद्यार्थीमध्ये १०३ जना उत्तीर्ण भए । 
 
विसं २०८१ को परीक्षामा ४२१ जना विद्यार्थीमध्ये २१५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसमा ‘ए’ ग्रेड ल्याउने विद्यार्थी १७ जना छन् । त्यसैगरी, ‘बी’ ल्याउने ५९, ‘बी प्लस’ ल्याउने ११६ र ‘सी’ ग्रेड ल्याउने २० जना छन् । सामुदायिक विद्यालयले उत्तीर्ण दर ५१ प्रतिशत प्राप्त गर्यो । 
 
यहाँको बैजनाथ माध्यमिक विद्यालय जडेपानीका प्रधानाध्यापक नवराज पन्तले विद्यालयले शैक्षिक गुणस्तर सुधारमा जोड दिएको जानकारी दिए । “हामीले कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गरेका छौँ,” प्रधानाध्यापक पन्तले भने, “आन्तरिक मूल्याङ्कन र साप्ताहिक अभिभावक भेटघाट अनिवार्य गरेका छौँ, यसले अभिभावकलाई समेत जिम्मेवार बनाएको छ ।” 
 
पछिल्ला तीन वर्ष यता सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि हुँदै गएको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले जानकारी दिए । उनले २०७९ सालपछि  कक्षा १० र कक्षा १२ का विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालन गर्न प्रत्येक विद्यानलयलाई पालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेका बताए। “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि हामीले तीन वर्षमा अत्यन्तै मेहनत गयौँ”, नगरप्रमुख बोहराले भने, “हाम्रो प्रयासपछि अहिले गुणस्तरमा उल्लेख्य सुधार भएको छ विद्यालयको नतिजा पाँच प्रतिशतबाट ५१ प्रतिशतमा पुर्याउन सफल भएका छौँ ।” 

Facebook Comments