उपसभामुख राना र कांग्रेस नेता कोइरालाबीच फोनवार्ता, के भयो कुराकानी ?


काठमाडौं । अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगर र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच फोनवार्ता भएको छ । सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले)ले उपसभामुखमाथि आचरणको प्रश्न उठाउँदै पदबाट हटाउने तयारी गरिरहेका बेला सत्तारुढ दल कांग्रेसकै नेता कोइराला र उपसभामुख रानाबीच फोनमा कुराकानी भएको हो ।
कुराकानीका क्रममा रानाले प्रजातन्त्रका लागि लडेको कांग्रेस पार्टीले के गर्न लागेको हो ? भनेर प्रश्न समेत गरिने । कांग्रेसले सांसदहरुलाई हस्ताक्षर गर्न बोलाउँदा हस्ताक्षर नगरेका कोइरालाले रानाको प्रश्नको जवाफमा आफ्नो ठाउँबाट लागिरहेको बताएका छन्। रानाले कोइरालालाई बहुमतको दुरुपयोग हुन नदिन आग्रह समेत गरिन् ।
कांग्रेस–एमालेका सांसदहरूले आज बिहानैबाट उपसभामुख रानालाई हटाउनेगरी हस्ताक्षर अभियान चलाएका छन् । नेकपा एमालेले आफ्ना सांसदहरुलाई उपत्यका बाहिर नजान र उपत्यका बाहिर भएका सांसदलाई बुधवार साँझसम्म काठमाडौं फर्किन निर्देशन समेत दिइसकेको छ ।
कांग्रेस–एमालेले उपसभामुख हटाउन हस्ताक्षर संकलन गर्न थालेपछि प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार दिउँसो विपक्षी दलको बैठक बोलाए । विपक्षी दलले उपसभामुख रानालाई हटाउने सत्तारुढ दलको प्रयासको सशक्त विरोध गरेर जाने निर्णय गरेको छ ।
Facebook Comments