१७ औं संस्करणको ‘नाडा अटो शो’ सुरु, मुख्य आकर्षण चारपाङ्ग्रे रोबोट र उड्ने कार


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आजदेखि राजधानीमा १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको भृकुटीमण्डमा आयोजना गरिएको उक्त प्रदर्शनीको आज शुभारम्भ गरे।
मेलाको आकर्षणका रूपमा स्वचालित तथा कृत्रिम बुद्धिमत्ताको नयाँ युगको प्रतिकस्वरुप उन्नत चारपाङ्ग्रे रोबोट र उड्ने कार रहेका छन् । प्रदर्शनीमा १९ वटा चारपाङ्ग्रे सवारीका ‘ब्राण्ड’, १३ हलुका सवारीसाधनका ब्राण्ड, चार वटा दुई पाङ्ग्रे सवारीका ब्राण्ड, पार्टपुर्जाका ३५ वटा कम्पनीले आआफ्ना उत्पादन राखेका छन् ।
यो नेपालको हालसम्मकै ठूलो अटो शो भएको दाबी गरिएको छ । यही भदौ ८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनी उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटो मोबाइल क्षेत्रले मुलुकको अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान दिएको बताए । “बैंक तथा वित्तीय संस्थामा प्रशस्त तरलता रहेको, कानुनी र नीतिगत रूपमा लगानीमैत्री वातावरण भएका कारण पनि अबको दुई वर्षभित्र ४० प्रतिशतसम्म सवारीसाधनको बिक्री बढ्ने आकलन छ”, उनले भने ।
एसोसिएसनका अध्यक्ष करण चौधरीले अटो शो प्रदर्शनी मात्रै नभएर व्यावसायिक थलोका रूपमा विकास हुँदै गएको बताए । अटो क्षेत्रले रोजगारी सिर्जना र राजस्व सङ्कलनमा ठूलो योगदान दिएको जानकारी दिँदै उनले प्रदर्शनीले वार्षिक रूपमा बिक्री हुने कुल सवारीसाधनको ४० प्रतिशत हिस्सा ओगट्ने बताए ।
Facebook Comments