बर्दिबास क्याम्पसलाई ९ बिघा जग्गा प्राप्त, खेलमैदान र छात्रावास बनाइने

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/1000044597.jpg

महोत्तरी । महोत्तरीको बर्दिबास जनता बहुमुखी क्याम्पसले पर्याप्त जग्गाको अभाव झेलिरहेको अवस्थामा अब त्यसबाट मुक्ति पाउने भएको छ । क्याम्पस प्रशासनले हालै ९ बिघाभन्दा बढी जग्गा प्राप्त भएको जानकारी दिएको छ ।

बर्दिबास–१४ मा अवस्थित यो क्याम्पस आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीका लागि उच्च शिक्षाको महत्वपूर्ण केन्द्र बनेको छ । वि.सं. २०६४ मा जनता माध्यमिक विद्यालयबाट सुरु भएको क्याम्पस पाँच/छ वर्षपछि ६ कट्ठा जग्गामा आफ्नै भवनमा सरेको थियो ।

हाल त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा रहेको यस क्याम्पसमा करिब १ हजार २०० विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी संख्या बढ्दै गएकाले नयाँ भवन र पूर्वाधार निर्माणका लागि जग्गाको अभाव प्रमुख चुनौती बनेको थियो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर हमालका अनुसार, बर्दिबास नगरपालिकाको सिफारिसमा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी नेतृत्वको जग्गा प्राप्ति सिफारिस समितिले क्याम्पसलाई ९ बिघा एक कट्ठा ९ धुर ‘पर्ति जग्गा’ उपलब्ध गराएको छ ।

अब प्राप्त जग्गामा थप भवन, खेलमैदान, उद्यान र छात्रावास निर्माण गरिने अध्यक्ष हमालले बताएका छन् । क्याम्पसमा हाल वाणिज्य र शिक्षा संकायमा स्नातक तथा शिक्षा संकायमा स्नातकोत्तर तहसम्मको पढाइ भइरहेको छ । यहाँ कुल विद्यार्थीमध्ये करिब ६० प्रतिशत छात्रा रहेका छन् ।


Facebook Comments