वीरगन्ज महानगरद्वारा धार्मिक सम्पदाको संरक्षणका लागि विशेष समिति गठन


वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रका मठ–मन्दिर, मस्जिद तथा चैत्य–गुम्बाको संरक्षण र व्यवस्थापनलाई संस्थागत गर्न विशेष सम्पदा व्यवस्थापन समिति गठन गरेको छ ।
महानगरले धार्मिक र ऐतिहासिक सम्पदाहरूको दिगो संरक्षण गर्नका लागि एउटा छुट्टै कानुन नै बनाएको छ । यसैअन्तर्गत, अब महानगरपालिकाका ३२ वटै वडामा रहेका सबै धार्मिक स्थलहरूको अभिलेख संकलन गरी सूचीकृत गरिनेछ ।
यसबाट धार्मिक संस्थाहरूलाई व्यवस्थित बनाउन र भक्तजनले चढाएको दान–चन्दाको दुरुपयोग रोक्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
महानगर प्रमुख राजेशमान सिंहको संयोजकत्वमा गठित यस समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न वडाका अध्यक्षहरू सदस्यका रूपमा रहेका छन् ।
सिंहले सम्पदाको संरक्षण र पारदर्शिता सुनिश्चित गर्नु समितिको मुख्य उद्देश्य रहेको बताएका छन् । यसले वीरगन्जको धार्मिक र सांस्कृतिक पहिचानलाई सुरक्षित राख्ने अपेक्षा गरिएको छ ।
Facebook Comments