पूर्व–पश्चिम राजमार्ग विस्तारमा छैन लक्ष्यअनुसारको प्रगति


झापा। एशियाली विकास बैंकको सहयोगमा निर्माणाधीन पुर्व–पश्चिम राजमार्गको काकरभिट्टा–लौकही सडक खण्ड विस्तारमा निर्धारित लक्ष्यअनुसार प्रगति हुन सकेको छैन।
सबैभन्दा बढी भौतिक प्रगति भएको प्याकेज नम्बर २ (झापाको सीतापुरीदेखि मोरङको गोठगाउँ, ४० किमी) मा ३५.७८ प्रतिशत हुनुपर्ने काम हालसम्म २६.१० प्रतिशत मात्र पूरा भएको छ।
मोरङको गोठगाउँदेखि सुनसरीको लविपुरसम्मको प्याकेज नम्बर ३ मा १२.१२ प्रतिशत मात्र प्रगति भएको छ, जबकि लक्ष्य २६.१६ प्रतिशत थियो। इटहरी बजार क्षेत्रमा घर–टहरा हटाउने र विद्युत पोल स्थानान्तरणमा ढिलाइ हुँदा काम प्रभावित भएको छ।
पुल निर्माणसम्बन्धी प्याकेज नम्बर ५ मा भने लक्ष्य भन्दा बढी प्रगति भएको छ—लक्ष्य २३.८ प्रतिशतमा हालसम्म २५.८ प्रतिशत काम सम्पन्न भएको छ।
आयोजनाका अनुसार स्थानीय माग, भू–भागका विवाद, जग्गा अधिग्रहण समस्या र शहरी मापदण्ड परिवर्तनका कारण निर्माणमा ढिलाइ भएको हो।
मासिक कम्तीमा ३ प्रतिशत प्रगति नहुँदा तोकिएको समयमा काम पूरा नहुने चेतावनी दिइएको छ।
Facebook Comments