कार्यसम्पादन मूल्याङ्कनमा घोडाघोडी नगरपालिका प्रदेशमै उत्कृष्ट

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/unblurimageai_ghodaghodi nagar.png

धनगढी । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरेको छ । उक्त नतिजा अनुसार कैलालीको घोडाघोडी नगरपालिका सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट भएको छ ।

घोडाघोडी नगरपालिकाले ८५.५० अंक प्राप्त गर्दै प्रदशकै उत्कृष्ट हुँदा बैतडीको मेलौली नगरपालिका ४५ अंकसहित प्रदेशको सबैभन्दा पुछारमा रहेको छ ।

कैलालीमा घोडाघोडी नगरपालिका शीर्ष स्थानमा छ, भने मोहन्याल गाउँपालिका ५५.५० अंकसहित पुछारमा छ । अन्य स्थानीय तहमध्ये धनगढी उपमहानगरपालिकाले ८४ अंक, गोदावरी नगरपालिकाले ८१ अंक, र चुरे गाउँपालिकाले ८१ अंक ल्याएका छन् ।

कञ्चनपुरमा वेदकोट नगरपालिका ८३.२५ अंकसहित जिल्लामा पहिलो भएको छ भने दोधारा चाँदनी ७१.५० अंकसहित पुछारमा छ । बाजुरामा बुढीगंगा नगरपालिका ८४.२५ अंकसहित उत्कृष्ट भएको छ, भने सबैभन्दा कमजोर स्थानीय तह बुढीनन्दा नगरपालिकाले ६१.७५ अंक ल्याएको छ ।

बैतडीमा जिल्लामा पुर्चौंडी नगरपालिका ७७.२५ अंकसहित पहिलो स्थानमा छ, भने मेलौली नगरपालिका ३१.२५ अंकसहित सबैभन्दा कमजोर देखिएको छ । अछाममा पंचदेवल विनायक नगरपालिका ७७.५० अंकसहित शीर्ष स्थानमा रहँदा ढकारी गाउँपालिका ४३.७५ अंकसहित पुछारमा छ ।

डडेल्धुरामा अजयमेरु गाउँपालिका ८३.२५ अंकसहित जिल्लाकै उत्कृष्ट भएको छ, भने नवदुर्गा गाउँपालिका ७३.२५ अंकसहित पुछारमा रहेको छ । डोटीमा जोरायल गाउँपालिका ८२.२५ अंकसहित पहिलो भएको छ भने पुर्विचौकी गाउँपालिका ५८.७५ अंकसहित सबैभन्दा कमजोर देखिएको छ ।

दार्चुलामा शैल्यशिखर नगरपालिका ८१ अंकसहित पहिलो हुँदा लेकम गाउँपालिका ६१.७५ अंकसहित पुछारमा रहेको छ । बझाङमा केदारस्युँ गाउँपालिका ७९.७५ अंकसहित पहिलो भएको छ भने सुर्मा गाउँपालिका ६२ अंकसहित सबैभन्दा पुछारमा छ ।

मन्त्रालयका अनुसार, यो मूल्याङ्कन शासकीय प्रबन्ध, सेवा प्रवाह, वित्तीय व्यवस्थापन, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण लगायत १० वटा सूचकको आधारमा गरिएको हो ।

यसको मुख्य उद्देश्य स्थानीय सरकारहरूको कार्यप्रक्रिया र उपलब्धिहरूको समीक्षा गरी सुधारका क्षेत्रहरू पहिचान गर्नु र उनीहरूबीच स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहित गर्नु रहेको छ ।


Facebook Comments