समयमै निर्वाचन हुनेमा नेपाल दक्षिण एसियामै उदाहरणीयः महामन्त्री थापा


काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले समयमा नै आवधिक निर्वाचन हुनेमा नेपाल दक्षिण एसियामा नै उदाहरणीय रहेको बताएका छन् । नेपाल मतदाता अधिकार मञ्चले आज आयोजना गरेको एकीकृत निर्वाचन विधेयक सम्बन्धमा राजनीतिक दलसँग अन्तक्रियामा उनले समयमै आवधिक निर्वाचन हुनु पनि लोकतन्त्रप्रति नेपाल प्रतिबद्ध रहेको उदाहरण भएको बताए ।
महामन्त्री थापाले आयोगबाट प्रस्तावित विधेयक राम्रो रहेको र यसमा थप सुधार गर्ने अवसर बाँकी रहेकाले थप छलफल गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । “आयोगले केही उत्कृष्ट प्रावधानहरू राखेर विधयेक ल्याएको छ, यसमा सरकारबाट केही कुरा घटेर आयो भने संसद्बाट थपेर पठाउने अवसर अझै छ, त्यसमा हामी लाग्छौँ”, उनले भने, “जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुनुपर्छ, तर सुधारको विषय राजनीतिक दल सञ्चालनको प्रवृत्तिबाट अलग राखेर हेर्न थाल्यौँ भने केही पनि हुँदैन। यसमा सबै दलहरू नै इमान्दार हुनुपर्छ ।”
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले निर्वाचनसम्बन्धी ऐनलाई अध्ययन गर्दा राजनीतिक दलसम्बन्धी ऐन र अन्य ऐनलाई पनि राखेर अध्ययन गरिनुपर्ने बताए । “संविधान संशोधनको विषय निर्वाचन प्रणाली पनि हुनसक्छ । यही सरकारकै कार्यकालमा हामी संविधान संशोधनको प्रस्ताव लैजान्छौँ, त्यसैबेला समेत यस विधयेकमा आएका कतिपय विषय पर्न सक्छन्”, उनले भने, “प्रत्यक्षमा पनि समानुपातिक सिट र संरक्षित सिट हुनुपर्ने विषयमा पनि हामी पार्टीभित्र छलफलमा नै छौँ ।”
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य माधव सापकोटाले हालको निर्वाचन प्रणाली भड्किलो भएको र स्थानीय तहदेखि केन्द्रीय तहसम्म आइपुग्दा समस्या रहेको बताए । उनले निर्वाचन खर्च कम गर्नका लागि पूर्ण समानुपातिक निर्वाचण प्रणाली उपयुक्त हुने सुझाव राखे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन प्रणालीलाई फराकिलो तरिकारले हेरी समाज रूपान्तरण र नेतृत्व परिर्वतनजस्ता विषयमा ध्यान दिनुपर्ने बताए । उनले संविधानमा व्यवस्था गरिएको समावेशी समानुपातिक व्यवस्थालाई बढी ध्यान दिनुपर्नेमा जोड दिए ।
Facebook Comments