दुर्घटनामा ज्यान गुमाएका परिवारलाई लहान नगरपालिकाद्वारा सहयोग


सिरहा । लहान नगरपालिका–२३ गढियाका लखन रामको नौ दिनअघि भएको सवारी दुर्घटनामा ज्यान गएको थियो । मसला मिलमा ज्यालामजदुरी गरी जीविकोपार्जन गर्दै आएका रामको असामयिक निधनले उनको परिवार विचल्लीमा परेको छ । घरका मुख्य सहारा गुमेपछि परिवार भोक, चिन्ता र अन्योलमा परेको छ ।
यो दुःखद् घडीमा लहान नगरप्रमुख महेशप्रसाद चौधरीले आज मृतकको घर पुगेर परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। उनले एक क्विन्टल चामल, पाँच किलो दाल, पाँच किलो नुन, तीन लिटर खानेतेल, चना, मटर, सोयाबिनलगायत खाद्यसामग्री हस्तान्तरण गर्दै पीडित परिवारप्रति सहानुभूति प्रकट गरे ।
खाद्यसामग्री हस्तान्तरणपछि नगरप्रमुख चौधरीले भन्नुभयो, “हामीले नगरका दलित, मुसहर तथा विपन्न परिवारमा कसैको मृत्यु भएमा राहत सामग्री वितरण गर्ने नीतिअनुरुप खाद्यसामग्री प्रदान गरेका हौँ । यसले मृत्युपछि गरिने कार्यमा सहयोग पुग्ने छ । थोरै भए पनि यस दुःखद् घडीमा परिवारलाई राहत पुगेको अनुभूति गरेको छौँ ।”
आगामी दिनमा उक्त परिवारको फुसको छानो हटाएर जस्तापाता राखिदिने प्रतिबद्धता जनाउँदै नगरप्रमुख चौधरीले मृत्युपछिको क्रियाकर्ममा बढी खर्च नगर्न पनि आग्रह गरे । लखन रामका दुई छोरा र एक छोरी छन् ।
उनका जेठा छोरा कासीकुमार रामले भन्नुभयो, “बुबाकै भरमा बाँचेका थियौँ । अब कसरी परिवार चलाउने भन्ने चिन्ता छ । हामीसँग पर्याप्त जग्गाजमिन पनि छैन, त्यसैले मजदुरी हाम्रो विकल्प हो ।” उनले नगरपालिकाले गरेको यो मानवीय सहयोगले तत्काललाई राहत दिएको बताए । नगरप्रमुखको प्रतिबद्धताले भविष्यप्रति आशा जगाएको मृतक रामका छोरा पेसनकुमार रामले बताए ।
Facebook Comments