बिगो बुझाएर रिहा गर्न माग गर्दै उच्च अदालत बुटवल पुगे रवि लामिछाने

User Image मेयरसाप डेस्क | २०८२ भदौ ९ गते १४:०२
Image of https://mayorsap.com/storage/photos/10/rabi-lamichhane-3_LI30oMFJ2m.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामै पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् । बिगो बुझाएर रिहा गर्न मागसहित लामिछानेले उच्च अदालत बुटवलमा रिट दायर गरेका हुन् । 

लामिछाने पत्नी निकिता पौडेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले श्रीमानको तर्फबाट न्यायका लागि उच्च अदालत बुटवलको ढोका पनि ढक्ढक्याएको जानकारी दिएकी छन् । उनले राजधानी ल्याउनुअघि भैरहवा कारागारमा लामिछानेलाई राखिएको अवस्थामाथि प्रश्न उठाउँदै अझै पनि जीवन सुरक्षाबारे गम्भीर चिन्ता व्यक्त गरेकी छन्। उनले झुटा मुद्दा लगाएर सत्ता र शक्तिको दुरुपयोग गर्दै लामिछानेलाई थुन्ने मात्र नभई संसदमै प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले धम्क्याउने कार्यसमेत भइरहेको उल्लेख गरेकी छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि कारागारमा छन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राखेर अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो । हाल नख्खु कारागारमा रहेका लामिछानेको पछिल्लो आदेश बदर गरिपाउँ भनेर निवेदन दर्ता भएको हो । 

लामिछानेले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिएका थिए । लामिछानेले आफ्नो भागको ठगी रकमको बिगो बापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै दाखिला गरेका थिए ।


Facebook Comments