वीरगन्जमा ७१ जनामा हैजा संक्रमण पुष्टि, तीन जनाकाे मृत्यु

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Haija-Virus.jpg

काठमाडौं । वीरगन्जमा हाल सम्म ७१ जनामा हैजा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। मन्त्रालयले बीरगन्ज महानगरपालिकाको ११, १२, १३ र १६ वडाका १९४ जनामा झाडापखाला लागेर उपचार भइरहेको र ती मध्ये २२ जनाको आइसीयू र ६ जनाको एचडीयूमा उपचार भइरहेको जानकारी दिएकाे छ ।

हैजा पहिचान भएका व्यक्तिहरूको दिसाको नमुना संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरमा २२ वटा नमुना तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १० वटा नमुना परीक्षणलाई पठाएको छ। हैजा फैलाउने स्रोत पहिचान गर्न ३ वटा पानीका स्रोतबाट नमूनाहरू संकलन गरी प्रयोगशालामा हैजा जीवाणु परीक्षणका लागि पठाइएको पनि मन्त्रालयले  जनाएको छ। 

त्यस्तै, हैजा संक्रमणबाट वीरगन्जमा ३ जनाको मृत्यु भएको छ। मन्त्रालयले गर्मी  तथा वर्षायाममा विशेष गरी झाडापखाला, हैजा तथा अन्य पानीजन्य रोगहरू फैलिने भएकाले  सतर्कता अपनाउन आग्रह गरेको छ। 

सरुवा रोगहरूबाट सुरक्षित रहन पिउने पानी उमालेर वा क्लोरिन प्रयोग गरी मात्र प्रयोग गर्ने, व्यक्तिगत तथा खानेकुराको सरसफाइमा विशेष ध्यान दिने, खुला स्थानमा दिसा नगर्न, चर्पीको अनिवार्य प्रयोग गर्ने, र दिसा पिसाब गरिसकेपछि र खानाखानु भन्दा अगाडि साबुन पानीले अनिवार्य हात धुन आग्रह गरेको छ। 


Facebook Comments