सन्दीपको ह्याट्रिकले टेरीटरीमाथि नेपालको शानदार जित


काठमाडौं । नेपालले पहिलो अभ्यास खेलमा अष्ट्रेलियन क्रिकेट टेरीटरीलाई ४१ रनले पराजित गरेको छ ।
नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको टेरीटरीको टोली १७.२ ओभरमा १३६ रनमा अलआउट भएको थियो ।
नेपालको जितमा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए ।
सन्दीपलाई करण केसीले २ विकेट तथा रुपेश सिंह र कुशल भुर्तेलले एक–एक विकेट लिएर साथ दिए । टेरीटरीका लागि जेक स्मिथले सर्वाधिक ५० रन बनाए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६९ रनको योगदान दिए ।
Facebook Comments