रोपो कुहिएपछि बागलुङका किसान चिन्तित

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad7137db45d.jpg

गलकोट । बागलुङको काठेखोला, बागलुङ र जैमिनी नगरपालिकाका किसानहरू धानको रोपो कुहिएर र सुकेर चिन्तित बनेका छन् । उनीहरूले लगाएको धानको रोपोमा गवारो कीरा र खेत कुहिने रोग को प्रकोप देखिएको हो ।

काठेखोला गाउँपालिका–१, पालाका किसान तुलबहादुर खत्रीले दुई हलको मेलामा रोपेको धानको रोपो पूरै कुहिएको बताए । उनले गोडमेल गर्ने बेलामा केही गाँज कुहिएको देखेर औषधि छरे पनि समस्या नरोकिएको बताए ।

किसानको उजुरीपछि कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालसहितको टोलीले स्थलगत अनुगमन गरेको छ । सिलवालका अनुसार, प्राविधिक ज्ञानको अभाव र जथाभावी झारनाशक विषादीको प्रयोगले पनि यो समस्या बढेको हो ।

बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले धानका गौरिया, मसिनो, गुडुरा, जेठोबुढो र हाइब्रिड जातमा यो समस्या बढी देखिएको बताए ।

किसानहरूले रोपो पहेँलो भएको देखेर युरिया मल प्रयोग गर्दा समस्या थपिएको पनि अधिकारीले जानकारी दिए । यस वर्ष जिल्लामा कुल ५,७०७ हेक्टरमध्ये ५,४७८ हेक्टरमा धान रोपाइँ भएको छ ।


Facebook Comments