गुल्मी–प्यूठान सडक निर्माणमा ढिलाइ, ३ वर्षमा २६ प्रतिशत प्रगति

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad8ad4b43e6.jpg

गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीदेखि प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ भएको छ । निर्धारित समयमा काम सम्पन्न नहुँदा वर्षायाममा यात्रुहरूले सास्ती भोगिरहेका छन् ।

निर्माण सुरु भएको करिब तीन वर्षको अवधिमा सडकको भौतिक प्रगति २६ प्रतिशत मात्र पुगेको छ । मदनभण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इञ्जिनियर प्रभात तिवारीका अनुसार, ३३ महिनामा वित्तीय प्रगति पनि २३ प्रतिशत मात्र भएको छ ।

एक अर्ब ४५ करोड रुपैयाँको लागतमा ३१ किलोमिटर सडक निर्माणको जिम्मा श्रेष्ठ–सक्षम जेभीले २०७९ कात्तिक ५ गते लिएको थियो । सडक निर्माणले गति नलिएको गुनासो आएपछि गुल्मीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको नेतृत्वमा स्थानीय तह र योजना कार्यालयको टोलीले हालै स्थलगत अनुगमन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कोइरालाले सडकको सबवेस, बेस र कालोपत्रे लगायतका धेरै काम बाँकी रहेको बताएका छन् । निर्माण व्यवसायीका इञ्जिनियर किसन शाहले भने आर्थिक समस्याका कारण काममा ढिलाइ भएको बताएका छन् ।

उनले कार्यालयबाट समयमै भुक्तानी नपाउँदा असर परेको र म्याद थप भएपछि कामलाई तीव्रता दिने बताएका छन् । योजना कार्यालयले लगातार काम भएमा २०८३ असार मसान्तसम्ममा सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जनाएको छ ।


Facebook Comments