भदौ २५ गतेदेखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने उखु किसानको घोषणा
मेयरसाप डेस्क
|
२०८२ भदौ १४ गते ००:४४
काठमाडौं । काठमाडौंमा आन्दोलनरत उखु किसानले सर्लाहीको हरिवनमा भदौ २५ गतेदेखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन् । शनिवार माइतीघरमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरूले आन्दोलनको नयाँ कार्यक्रमको घोषणा गरेका हुन् ।
महासंघले कृषि मन्त्रीसहितको सरकारी वार्ता टोलीसँग तीन पटकसम्म वार्ता भए पनि कुनै निष्कर्षमा पुग्न नसकेको जनाएको छ। महासंघले परिस्थिति प्रतिकूल बन्न नदिन सरकारले उखु किसानलाई उपलब्ध गराउन बाँकी अनुदान रकम विना सर्त तत्काल भुक्तानी गर्न र उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न पनि माग गरेको छ।
आन्दोलनका संयोजक श्यामबाबु रायले भने, “हामीले एक हप्ता काठमाडौँमा आएर आन्दोलन गर्दासमेत सरकारले ध्यान दिएको छैन । झरीमा भिजेर आन्दोलन गर्दा केही किसान बिरामीसमेत परे । त्यसैले हामी अब राजमार्ग केन्द्रित आन्दोलनमा होमिएका हौँ । हामीले अनुदान चन्दा माग्न आएका हैनौँ । हामीले उत्पादन गरेको उखुबाट बनेको चिनीबाट पनि हामीले कर तिरेका हौँ ।”
उखु उत्पादक महासङ्घ, नेपालको अगुवाइमा पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अन्तर्गत नेपाल सरकारले उखु किसानलाई दिनु पर्ने अनुदान रकममा बदनियत पूर्ण ढङ्गबाट कटौती गरेको भन्दै विरोधमा उत्रिएका छन् ।
Facebook Comments