पर्यटकीय क्षेत्र घ्याम्पेडाँडा–रानीकोट हुँदै पनौती जाने सडकको स्तरोन्नतिमा जुट्यो स्थानीय सरकार

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/local-level.jpg

भक्तपुर । पहिरोका कारण दुर्घटनाको उच्च जोखिममा परेको भक्तपुरको पर्यटकीय क्षेत्र घ्याम्पेडाँडा रानीकोट हुँदै पनौती जाने सडकको स्तरोन्नति सुरु भएको छ ।
 
सूर्यविनायक चोकबाट घ्याम्पेडाँडा, रानीकोट हुँदै काभ्रेको पनौती जोड्ने सडकमा पहिरो गएपछि सवारीसाधन आवागमनमा समस्या पर्नुका साथै पहिरोका कारण दुर्घटनाको जोखिम बढेपछि स्थानीय सरकारले स्तरोन्नति सुरु गरेको हो । वडा कार्यालयले शनिबारदेखि डोजर पठाएर मर्मत सुरु गरेको नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए ।
 
वडा नं ८ का वडाध्यक्षसमेत रहेका प्रवक्ता सापकोटाले घ्याम्पेडाँडा–रानीकोट सडक पहिरोले समस्यामा पारेको जानकारी पाएपछि शनिबारदेखि लागत खर्च नगरपालिकाले व्यहोर्ने गरी मर्मत सुरु गरिएको बताए।
 
रानीकोटका पर्यटन व्यवसायी एवं भिलेज होटल हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले भक्तपुरबाट पनौती जाने एक मात्र वैकल्पिक मार्गका रूपमा उक्त खण्ड वडा कार्यालयको नेतृत्वमा मर्मत सुरु भएकामा खुसी व्यक्त गरे । उनले योसँगै यहाँ आउने पर्यटक तथा सर्वसाधारणलाई आवागमनमा सहज हुने विश्वास व्यक्त गरे । 
 
बकेँले भने, “सूर्यविनायकबाट काभ्रेको पनौती पुग्ने छाटो दूरीको यो एक मात्र मार्ग हो । यो पर्यटकीय सडक भएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती हुँदै आएको थियो । स्तरोन्नति भएपछि यात्रा सहज हुनुका साथै व्यावसाय बढ्ने विश्वास लिएका छौँ ।” उहाँका अनुसार यहाँ आउने पर्यटकको चाप बढिरहेको अवस्थामा एक महिनादेखि पटकपटक पहिरो गएर सडक अवरुद्ध भएको थियो । 
 
“केही दिनयता खानेपानीको मूल पाइप फुटेर पानी बगेपछि थप पहिरो गएर जोखिम बढेको थियो, नगरपालिकाले मर्मत सुरु गरेसँगै पर्यटन व्यवसायी खुसी भएका छौँ”, बकेँले भने । पहिरो जान थालेपछि पनौतीबाट दूध, तरकारीलगायत सामग्री बोकेर सूर्यविनायक आउने–जाने यातायातमा कमी आउनाका साथै घ्याम्पेडाँडा र रानीकोट जाने स्थानीयवासी र पर्यटकलाई सास्ती भएको थियो । 
 
पर्यटन व्यवसायी बकेँले भने, “रानीकोटमा आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य आगमन हुने गरेको छ । सडकका कारण पर्यटन व्यवसायमा समेत समस्या आएको थियो । घ्याम्पेडाँडामाथि रानीकोटसम्म आएको पहिरो हरेक वर्ष डोजर लगाएर पन्छाउँदै आएका थियौँ । अहिले ठूलो पहिरो गएपछि वडा कार्यालयले मर्मत सुरु गरेका छ । यसले हामी पर्यटन व्यवसायी उत्साहित छौँ ।”


Facebook Comments