भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता


तियानजिन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच आज चीनको तियानजिनमा द्विपक्षीय भेटवार्ता भएको छ । सात वर्षपछि भएको यस भेटमा दुई नेताले ५० मिनेटसम्म कुराकानी गरेका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार, मोदीले सीमाबाट सेना फिर्ता भएपछि दुई देशबिच शान्ति र स्थिरताको वातावरण बनेको बताए । उनले कैलाश मानसरोवर यात्रा पुनः सुरु भएको र सिधा उडानहरू पनि सञ्चालन भइरहेकोमा खुसी व्यक्त गरे ।
मोदीले भारत र चीनको सहकार्यले २.८ अर्ब जनतालाई फाइदा पुग्ने र यसले सम्पूर्ण मानवताको कल्याणको बाटो खोल्ने बताएका छन् । भेटपछि राष्ट्रपति सीले भारत र चीन एकसाथ आउनु महत्त्वपूर्ण भएको बताए । दुई नेताले आपसी विश्वास र सम्मानका आधारमा सम्बन्ध अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सन् २०२० मा भएको गलवान झडपपछि बिग्रिएको सम्बन्ध सुधारका लागि यो भ्रमण महत्त्वपूर्ण मानिएको छ । मोदी आज तियानजिनमा आयोजना भइरहेको साङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिँदैछन् । उनले भोलि रुसी राष्ट्रपति पुटिनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
Facebook Comments