दशैँका लागि भदौ २९ देखि नयाँ नोट साट्न पाइने


काठमाडौं । दशैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले नयाँ नोट (सुकिला नोट) साट्ने व्यवस्था मिलाएको छ । बैंकले आज एक सूचना जारी गर्दै भदौ २९ देखि असोज १० गतेसम्म नयाँ नोट साट्न सकिने जनाएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार, नोट साट्नका लागि थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैंकका प्रदेश कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) का साथै सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट सेवा उपलब्ध हुनेछ ।
चाडपर्वमा पाँच, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटको माग बढी हुने गरेको छ । केन्द्रीय बैंकले पुरानो र मैलो नोटलाई हटाएर नयाँ नोट बजारमा पठाउने गरेको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/६८ देखि ‘सफा नोट नीति’ लागू गरेको थियो । नोट छाप्नमा ठूलो खर्च हुने भएकाले बैंकले नोटलाई सफा राख्न पनि सबैलाई अनुरोध गरेको छ ।
Facebook Comments