तम्घासको चिदिचौर खेलमैदान अलपत्र, खेलकुद प्रतियोगिता प्रभावित

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b563850e08b.jpg

तम्घास । गुल्मीको सदरमुकाम तम्घासमा रहेको फोर्टिन स्टार युवा क्लब चिदिचौर खेलमैदानको पुनर्निर्माण कार्य समयमै सम्पन्न नहुँदा यस वर्षका खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरू अन्योलमा परेका छन् । दसैँ–तिहारलाई लक्षित गरी आयोजना हुने विभिन्न खेलकुद प्रतियोगिताहरूका लागि मैदान तयार नभएको भन्दै आयोजकहरू चिन्तित छन् ।

क्लबका अध्यक्ष नारायण आचार्यले ६ महिनादेखि मैदान खनेर अलपत्र छाड्दा खेल क्षेत्रमा नकारात्मक असर परेको बताए । उनले भने, ‘खेलमैदान खनेर यत्तिकै छोडिएको छ, यसले सिङ्गो खेल क्षेत्रलाई असर परेको छ। खेल मैदानलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ।’

यो मैदानमा फुटबल, भलिबल, क्रिकेट लगायतका खेल प्रतियोगिताका साथै गाईजात्रा, तीज गीत लगायतका सांस्कृतिक कार्यक्रम पनि हुँदै आएका थिए । तर, अहिले मैदानको बीचमा ढुङ्गा, गिट्टी, पाइप र खाल्डाहरू रहेकाले कुनै पनि गतिविधि गर्न सम्भव छैन ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीका अनुसार, १ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको यो मैदानको काम रामेछाप कन्स्ट्रक्सनले पाएको थियो । वि.सं. २०८३ असारसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि हालसम्म करिब ५० प्रतिशत मात्रै काम सकिएको उनले जानकारी दिए ।


Facebook Comments