दैलेखको पेट्रोलियम अन्वेषण : व्यावसायिक उत्पादनको तयारी


जलजले । दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा गरिएको पेट्रोलियम अन्वेषणले ठूलो मात्रामा प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थको भण्डारण रहेको पुष्टि गरेको छ । यो खबरले देशभर उत्साह छाएको छ भने अहिले व्यावसायिक उत्पादनको तयारीसम्बन्धी काम अघि बढेको छ ।
खानी तथा भूगर्भ विभागको नेतृत्वमा चीनको जिओलोजिकल सर्भे कम्पनीले गरेको अन्वेषणबाट जलजलेमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको विशाल भण्डारण रहेको पुष्टि भएको छ ।
चार हजार १३ मिटर गहिराइमा गरिएको पहिलो ड्रिलिङबाट सङ्कलन गरिएको नमूनाको परीक्षणमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास को भण्डारण पाइएको छ ।
प्रारम्भिक अनुमानअनुसार, चारवटा सम्भावित कुवामध्ये यो पहिलो कुवाको मात्रै नतिजा हो। बाँकी तीन कुवाबाट कुल ४३० अर्ब घनमिटर ग्यास उत्पादन गर्न सकिने अनुमान गरिएको छ । यसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकता पूरा गर्न सक्ने सम्भावना देखिएको छ ।
व्यावसायिक उत्पादनको तयारी
पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी तथा भूगर्भविद् प्रकाश लुइँटेलका अनुसार, चीनले अहिले नमूनाको विश्लेषण र अन्तिम प्रतिवेदनको तयारी गरिरहेको छ ।
सन् २०२५ को डिसेम्बरसम्म अन्तिम प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको छ ।
सरकारले पनि व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन र पूर्वतयारी गर्न नेपाल आयल निगमका निर्देशक विनितमणी उपाध्यायको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।
यो समितिले ग्यासको सदुपयोग, व्यावसायिक उत्पादनका लागि आवश्यक पूर्वाधार, र लागतबारे अध्ययन गर्ने जिम्मेवारी पाएको छ ।
ऐतिहासिक पृष्ठभूमि
दैलेखमा पेट्रोलियम पदार्थ रहेको अनुमान पहिलेदेखि नै भए पनि वि.सं. २०३६ सालदेखि वैज्ञानिक अनुसन्धानको प्रयास हुँदै आएको थियो ।
वि.सं. २०७५ माघमा नेपाल र चीनबीच भएको सम्झौतापछि यसको अन्वेषण सुरु भएको हो । यो नेपालमा गरिएको अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक अन्वेषण परियोजना हो ।
यो परियोजना चीनको पूर्ण अनुदानमा सञ्चालित छ, जसको लागत अनुमानित २ अर्ब ५० करोड रुपैयाँ थियो ।
Facebook Comments