वैवाहिक सम्बन्धबारे रास्वपा उम्मेदवार थापाले भने– ‘मेरो जीवन गैरकानुनी छैन’

'नेता बन्न होइन, देश बदल्न आएको हुँ'

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b5488675cd3.jpg

काठमाडौं । रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका डा. लेखजंग थापाले आफ्नो वैवाहिक सम्बन्धबारे उठेका प्रश्नहरूको जवाफ दिएका छन् ।

उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत आफूले दुई पटक विवाह गरेको र एक श्रीमतीसँगको सम्बन्धविच्छेदको अदालती प्रमाण सार्वजनिक गर्दै स्पष्टीकरण दिएका हुन् ।

सार्वजनिक कागजातअनुसार, २०७९ माघ १५ गते रुपन्देही जिल्ला अदालतबाट थापा र उनकी एक पत्नीबीच सम्बन्धविच्छेद भएको देखिन्छ । थापाले आफ्नो पारिवारिक जीवन गैरकानुनी वा समस्यापूर्ण नरहेको दाबी गरेका छन् ।

थापाले भनेका छन्, ‘परिस्थितिले गर्दा मैले जीवनमा दुई पटक विवाह गरेको कुरा सत्य हो, तर मेरी एक श्रीमतीसँग सम्बन्धविच्छेद भएको पनि उत्तिकै सत्य हो। यो व्यक्तिगत आक्रमणभन्दा बढी पार्टीमाथि भएको सुनियोजित प्रहार हो ।’ 

उनले सम्बन्धविच्छेद भएकी श्रीमतीसँग आफ्नो सन्तान रहेको र छोराको भविष्यका लागि उनीसँग सौहार्दपूर्ण सम्बन्ध राख्नुमा आफूलाई कुनै ग्लानि नभएको बताए ।

उनले आफू नेता बन्न नभई देश बदल्ने अभियानको सहयात्री बन्न राजनीतिमा आएको स्पष्ट पारेका छन् । थापाले आफ्नो व्यक्तिगत कारणले पार्टीमाथि कुनै दाग नलागोस् भन्ने चाहेको र पार्टीले गर्ने कुनै पनि निर्णयलाई आफूले सहर्ष स्वीकार गर्ने प्रतिबद्धता जनाएका छन् ।


Facebook Comments