सुडानमा पहिरो : हजारौंको मृ*त्यु, झन् गहिरियो मानवीय संकट

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b673d6788a0.jpg

काठमाडौं । सुडानको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली पहिरोले कम्तीमा १,००० जनाको मृत्यु भएको त्यहाँको विद्रोही संगठन सुडान लिबरेशन मुभमेन्ट (आर्मी) ले जनाएको छ । बीबीसीका अनुसार, यो दुःखद घटना पश्चिमी सुडानको मर्रा पर्वतस्थित एक दुर्गम क्षेत्रमा भएको हो ।

विज्ञप्तिअनुसार, लगातारको भारी वर्षाका कारण अगस्ट ३१ मा गएको पहिरोले तारासिन गाउँको ठूलो हिस्सालाई पूर्णरूपमा ध्वस्त पारेको छ । ‘प्रारम्भिक विवरण अनुसार गाउँका सबै बासिन्दाको मृत्यु भएको छ, केवल एक जना मात्र जीवित छन्,’ विज्ञप्तिमा उल्लेख छ ।

विद्रोही संगठनले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता निकायहरूसँग पीडितहरूको शव उद्धार तथा राहतका लागि सहयोगको अपिल गरेको छ । सुडान तीन वर्षदेखि जारी गृहयुद्धका कारण विश्वकै सबैभन्दा भीषण मानवीय संकटमध्ये एकको सामना गरिरहेको अवस्थामा यो घटना घटेको छ ।

अल जजिराका अनुसार, दारफुरका केही भागमा पहिले नै भोकमरी घोषणा भइसकेको छ र यस क्षेत्रमा खाद्यान्न तथा औषधिको अभाव रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अप्रिल २०२३ देखि सुरु भएको सुडानको सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीचको गृहयुद्धले १.२ करोडभन्दा बढी मानिसलाई विस्थापित गरिसकेको छ ।


Facebook Comments