शिक्षक महासंघद्वारा रास्वपा कार्यालयमा धर्ना


काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा धर्ना दिएको छ । मंगलबार महासंघले आफ्नो पहिलो चरणको आन्दोलनअन्तर्गत रास्वपा कार्यालयमा विरोध जनाएको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विगतमा सरकारसँग भएका सहमतिअनुसार विधेयकमा आफ्ना मागहरू समावेश गर्न दबाब दिन यो आन्दोलन सुरु गरिएको बताए । संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको विधेयकमा शिक्षक कर्मचारीका मागहरूलाई बेवास्ता गरिएको महासंघको आरोप छ ।
अस्थायी प्रकृतिका शिक्षकको पदपूर्तिमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुला हुनुपर्ने, विद्यालय कर्मचारी र बालकक्षा शिक्षकको पद र सेवा सुविधा सुनिश्चित हुनुपर्ने, संस्थागत विद्यालयका शिक्षकको सेवा र अव्यावहारिक सरुवा प्रणाली सच्याउनुपर्ने महासंघका मुख्य मागहरू हुन् ।
हाल विधेयकमा अस्थायी शिक्षकको पदपूर्ति ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने व्यवस्था गरिएको छ । महासंघले भदौ २० गतेसम्म धर्ना कार्यक्रम जारी राख्ने जनाएको छ ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट भदौ ५ गते पारित भएको यस विधेयकमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरूले फरक मत राखेका छन् ।
Facebook Comments