उपनिर्वाचनका लागि प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने राप्रपाको निर्णय


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि प्राइमरी इलेक्सन (आन्तरिक प्रारम्भिक निर्वाचन) मार्फत उम्मेदवार छान्ने भएको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, यो निर्णय नवीन राप्रपा कार्ययोजना अन्तर्गत गरिएको हो ।
राप्रपा संसदीय समितिको बैठकले कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि जिल्ला कार्यसमितिबाट सिफारिस भएका आकांक्षी उम्मेदवारहरूमध्येबाट प्रजातान्त्रिक पद्धति अपनाएर उम्मेदवार चयन गर्ने निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार, आन्तरिक मतदाताहरूबाट सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्तिलाई उम्मेदवार बनाइनेछ ।
यसअघि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि प्राइमरी इलेक्सनबाटै डा. लेखजंग थापालाई उम्मेदवार चयन गरेको थियो । रुपन्देही–३ मा राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधनपछि यो स्थान रिक्त भएको हो ।
उपनिर्वाचनका लागि राप्रपाबाट स्वाती थापा, गौरब बोहरा, प्रज्वल बोहरा र बसन्तविक्रम शाही आकांक्षी रहेका छन् । यीमध्ये स्वाती, गौरब र प्रज्वल बोहरा दीपक बोहराकै परिवारका सदस्य हुन् ।
Facebook Comments