ओलीले पुटिनसँग कसरी भने– ‘म प्रधानमन्त्रीका रुपमा ‘१९९९–२०००’ मा रसिया गएको थिएँ ?’
ओली नेपाल सरकारको प्रतिनिधित्व गर्दै आधिकारिक रुपमा रसिया गएको कुनै प्रमाण मेयरसाप डटकमले भने फेला पारेको छैन ।


काठमाडौं । साङ्घाई कोअपोरेसन अर्गनाइजेसनको कार्यक्रममा सहभागी हुन चीन पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच कार्यक्रमको दोस्रो दिन साइडलाइनमा भएको भेटका क्रममा भएको कुराकानीको विषयवस्तु रसियाले राष्ट्रपतिको आधिकारीक वेबसाइटमार्फत सार्वजनिक गरेको छ । यो विषय रसियाको परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि सार्वजनिक गरेको छ ।
तर रसियाको राष्ट्रपतिको वेबसाइटमा उल्लेख गरिएको विषयवस्तुमा नेपालका प्रधानमन्त्री ओलीले बोलेको भनेर उल्लेख गरिएको एक विषय गलत राखिएको छ । रसियाकाे राष्ट्रपतिकाे आधिकारिक वेबसाइटमा पनि दुई देशबीचको सम्बन्धबारे ओली र पुटिनबीच कुराकानी भएको विषयमा ओलीले ‘आफू प्रधानमन्त्रीका रूपमा सन् १९९९–२००० मा रसिया भ्रमणमा गएको’ भनेर भेटघाटमा बताएको भनिएको छ । जबकी ओली परराष्ट्र मन्त्री सन् २००६ मे २२ मा बनेका थिए । ओली सन् २०१५ अक्टोबर १२ मा प्रथम पटक प्रधानमन्त्री भएका थिए ।
पूरा पढ्न तलकाे अंग्रेजी अक्षर क्लीक गर्नुहाेस् !
Meeting with Prime Minister of Nepal Khadga Prasad Sharma Oli
सुशिल कोइराला प्रधानमन्त्री हुँदा नेपालको संविधान बनेको थियो । संविधान बनेपछि नयाँ निर्वाचन भयो । निर्वाचनपछि एमाले र माओवादी मिलेर सरकार बनाएका थिए । त्यही बेला ओली पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यस्तै ओली २०५१ मंसिर १४ गते गृहमन्त्री भएका थिए । उनले वि.स. २०५२ असोज ५ गते राजीनामा दिनु परेको थियो । त्यो भनेको सन् १९९४ को डिसेम्बरदेखि १९९५ को अवधि हो ।
रसियाको राष्ट्रपतिको वेबसाइटमा उल्लेख भएको ‘ओलीले पुटिनसँग प्रधानमन्त्रीको रूपमा सन् १९९९–२००० मा आफू रूसको मस्को र सेन्ट पिटर्सबर्ग गएको’ उल्लेख गरिएको विवरण नै गलत देखिन्छ ।
पुटिनसँगको भेटमा प्रधानमन्त्री ओलीले बोलेको विषय उल्लेख गरिएको विवरणमा ओलीले बाेलेकाे जानकारी भाषाअनुवादले गलत अनुवाद गरे अर्थात वेबसाइटमा अपडेट गर्नेहरूले गलत तथ्य राखे, त्यो रसियाको परराष्ट्र मन्त्रालय नै जानोस्, तर उल्लेखित उक्त विवरणले भने नेपालका प्रधानमन्त्री ओलीको 'बेइज्जत' नै गरेको छ । हामीले नेपालका प्रधानमन्त्रीकाे सचिवालयले पठाएकाे भिडियोमा पनि उस्तै सुनेका थियौै । तर पछि एपीटी युट्युव च्यानलमा राखिएकाे भिडियो दाेहाेर्याएर हेरेपछि प्रधानमन्त्री ओलीले 'हाेएन आइ वाज नट प्राइमिनिस्टर' भनेकाे सुनियाे ।
हुन त प्रधानमन्त्री ओली बेलाबेला अंग्रेजी शब्दहरूलाई फरक तरिकाले पनि ब्याख्या गरिदिन्छन् । एक कार्यक्रममा राइनोज र डाँफेज भनेर ओलीले अंग्रेजी शब्दलाई तोडमोड नै गरेका थिए । सामाजिक सञ्जालमा उनको धज्जी उडाइएको थियो । उता अमेरिका भ्रमणमा जाँदा कोलम्बिया विश्वविद्यालयमा विद्यार्थीहरूसँग बोल्दा ओलीले अंग्रेजीमा सोधिएको प्रश्न दोहोर्याएर सोध्दा पनि प्रश्न नबुझी उत्तर दिएरकाे भनेर ट्रोल बनेका थिए ।
अहिले पनि ओलीले पुटिनसँगको बसाईमा बाेलेका विषयमा रसियाको राष्ट्रपतिकाे कार्यालयकाे वेबसाइटमा राखिएकाे तथ्य गलत देखिएकाे छ । कूटनीतिक क्षेत्रका कर्मचारी अब्बल मानिए पनि ओलीले बोलेको विवरण उतारेर राख्नुपर्ने कारण सुन्दा गलत सुनेर त्यस्ताे राखेकाे पनि हुन सक्छ ।
ओली नेपाल सरकारको प्रतिनिधित्व गर्दै आधिकारिक रुपमा रसिया गएको कुनै प्रमाण मेयरसाप डटकमले भने फेला पारेको छैन । प्रधानमन्त्री ओलीले रसिया भ्रमणको निम्ताे पनि पाएका छन् । प्रधानमन्त्री ओली अहिले पनि चीनकाे भ्रमणमा रहेका छन् ।
तथ्य जाँचपछि सुधारिएकाे –सम्पादक
Facebook Comments