खानेपानी मन्त्री यादव भन्छन्–मलाई ज्यान मा*र्ने धम्की दिने महिलाप्रति कुनै पूर्वाग्रह छैन
पक्राउ पर्ने महिलाप्रति नरम व्यवहार गर्न प्रहरीलाई आग्रह


काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले आफूलाई ज्यान मार्ने धम्की दिने महिलाप्रति कुनै पूर्वाग्रह नभएको बताएका छन् । मन्त्री यादवले सामाजिक सञ्जालमार्फत ती महिलासँग व्यक्तिगत रुपमा कुनै पूर्वाग्रह नभएको भन्दै उनी पक्राउ पर्नुसँग आफूलाई नजोड्न समेत आग्रह गरेका हुन् ।
उनले प्रहरीलाई समेत ती महिलाप्रति नरम व्यवहार गर्न आग्रह गरेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘ती महिलाले मलाई दिइएको हत्यावाला अडियो आफैं इडिट गराई सार्वजनिक गराइन् र गरिन् । र फेरि संयोगले असली अडियो पनि बाहिर आएर आफैं सत्यतथ्य छर्लङ्ग भयो । पर्सा प्रहरीले आफ्नो अनुसन्धान अगाडि बढाउँदा ती फोनकर्ता हिरासतमा राखिएकी हुन् । मेरो व्यक्तिगत रूप उनीप्रति कुनै पूर्वाग्रह छैन ।’
मन्त्री यादवले जनप्रतिनिधिमाथि रिस पोख्नुलाई सामान्य रूपमा लिए पनि अनाहक अफवाह फैलाउने, मार्ने धम्की दिने कार्यप्रति आफ्ना हितैषीहरुले चिन्ता लिएको बताए । उनले यस विषयमा छानबिन हुनु पनि स्वभाविक भएको उल्लेख गरेका छन् ।
वीरगञ्जमा हैजा फैलिएपछि किरण साह नामकी ती महिलाले मन्त्री यादवको मोबाइल नम्बरमा फोन गरेर आक्रोश पोखेकी थिइन् । त्यसक्रममा उनले हैजाले मान्छे मरिरहेको तर मन्त्री भएर केही गर्न नसकेको भन्दै ज्यान मार्ने धम्की दिएको अडियो सामाजिक सन्जालमा सार्वजनिक भएको थियो । त्यसपछि मन्त्री यादवले पर्सा प्रहरीलाई दिएको सूचनाको आधारमा गत शनिबार किरण साह पक्राउ परेकी थिइन् ।
Facebook Comments