प्रधानमन्त्रीलाई सुदन किरातीको प्रश्नः अब चीन र भारतबीच भएको सहमति चीनले फिर्ता लिन्छ ?

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b92b5eacad0.jpeg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले प्रधानमन्त्री केपी ओलीलाई चीन भ्रमणको सन्दर्भमा विभिन्न प्रश्न उठाएका छन् । नेता किरातीले सामाजिक सञ्जालमार्फत आज चीन भ्रमणसँगै लिपुलेकसँग सम्बन्धित विषयलाई अतिरन्जीत प्रचार गरेर प्रधानमन्त्री ओलीलाई भगवान बनाउन खोजेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘तपाईको चीन भ्रमणसँगै लिपुलेकसँग सम्बन्धित विषयलाई अतिरन्जीत प्रचार मार्फत तपाईलाई भगवान बनाउने गलत प्रयास भएको थियो तर क्रमशःआइरहेको प्रतिक्रियाले कतै हाम्रो घाँटीमा हड्डी अड्किएको त होइन ? भन्ने भयङ्कर संशय पैदा भैरहेको छ । यदी त्यस्तो हो भने कुटनीति भन्ने विषय कुनै लहड, उक्साहट र भावनाको सिमा भित्र मात्रै सिमित हुँदैन रहेछ । बाँकी समयले पर्दा खोल्दै लैजाला ।’

भारत र चीनबिच भएको सम्झौतालाई लिएर चीनका राष्ट्रपति सी चिन फिङसँग प्रधानमन्त्री ओलीले आपत्ति जनाएको विषयमा एमाले नेताहरुले प्रचार गरेपछि किरातीले असन्तुष्टि जनाएका हुन् । उनले प्रचार गरिए जस्तै अब चीन र भारतबीच भएको सहमति चीनले फिर्ता लिन्छ ? भनेर ओलीमाथि प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री ज्यू, प्रचार गरे जस्तै हो भने के अब चीन र भारत बीच भएको सहमति चीनले फिर्ता लिन्छ ? तपाई साँच्चै राष्ट्रियता र लिपुलेक सम्बन्धमा इमान्दर हुनुहुन्छ भने नेपालको चुच्चे नक्सा राखिएको पाठ्यक्रम छाप्दा छाप्दै वेपत्ता भएको थियो । अब त्यसलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्ने हिम्मत गर्नु हुन्छ ? सैन्य गठबन्धन जि.एस.आई.लाई समर्थन गरेको कुरा चिनियाँ सरकारले भन्यो के साँच्चै तपाई संविधानको विरुद्ध जानु भएको हो ?’

 


Facebook Comments