पोखरा महानगरले पाताले छाँगो ठेक्का लगाएको विषयमा विवाद, नेविसंघका नेतामाथि खुकुरी प्र*हार


कास्की । कास्की जिल्लाको पोखरामा रहेको पाताले छाँगो ४० वर्षका लागि पोखरा महानगरले ठेक्कामा दिएको विषयमा विवाद भएपछि अवस्था तनावग्रस्त बनेको छ । पाताले छाँगोमा सीसाको पुल लगायतका संरचना बनाउन ठेक्का पाएको सेती क्यानोनिङ प्रालिले आज बिहान राखेको सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न पार्टीका विद्यार्थी नेता र स्थानीयले विरोध जनाएपछि अवस्था तनावग्रस्त बनेको हो ।
घटनामा नेपाल विद्यार्थी संघका नेता निर्दोष विक्रम पौडेललगायतमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गर्ने बंशसिंह खवासलाई नियन्त्रणमा लिएर पौडेललाई उपचारका लागि अस्पताल लगेको प्रहरीले जनाएको छ ।
आज ठेकेदार तथा महानगरका पक्ष र निर्माण गर्न दिन नहुने दुबै पक्षबाट ठूलो संख्यामा युवाहरू उपस्थित भएका थिए ।
कार्यक्रम सुरू भएलगत्तै विभिन्न विद्यार्थी संगठनका नेता र स्थानीयले सीसाको पुल निर्माणको विपक्षमा नाराबाजी गर्दै योजना अगाडि बढाउन नदिने चेतावनी दिएका थिए ।
विवाद बढ्दै गएपछि मेयर धनराज आचार्य कार्यक्रमस्थलबाट हिँडेका थिए । मेयरले जवाफ नदिइ भागेको भन्दै नाराबाजी र विरोध थप चर्किएको थियो । कार्यक्रम सकिसकेपछि विरोध गर्ने विद्यार्थीमाथि खुकुरी प्रहार भएको हो ।
Facebook Comments