निजामती सेवा दिवसको पूर्वसन्ध्यामा ऊर्जा मन्त्रालयमा वृक्षारोपण र सरसफाइ

User Image मेयरसाप डेस्क | २०८२ भदौ २० गते १०:४३
Image of https://mayorsap.com/storage/photos/10/68ba831e802e5.jpg

काठमाडौं । निजामती सेवा दिवसको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वृक्षारोपण र सरसफाइ कार्यक्रम आयोजना गरेको छ । मन्त्री दीपक खड्काले आज बिहान वृक्षारोपण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री खड्काले कर्मचारीहरूलाई सुशासन कायम गर्दै छिटोछरितो सेवा प्रदान गर्न आग्रह गरे । उनले कर्मचारीहरूले आफ्नो अधिकारका लागि आवाज उठाउँदा आफ्नो कर्तव्यलाई पनि नबिर्सन अनुरोध गरे ।

मन्त्री खड्काका अनुसार, ऊर्जा मन्त्रालयले विगतदेखि नै डेंगी नियन्त्रण र सरसफाइ अभियान चलाउँदै आएको छ । उनले रोग लाग्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमानी हुने भन्दै यस्ता सचेतना कार्यक्रमले रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले यस वर्षदेखि निजामती सेवा दिवसलाई फरक ढंगले मनाउन सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । मन्त्रालयले गत वर्षदेखि नै हरेक शुक्रबार सरसफाइ कार्यक्रम गर्दै आएको पनि उनले बताइन् ।

आजै काठमाडौँ महानगरपालिकाको स्वास्थ्य सेवा विभागको टोलीले सिंहदरबारभित्र डेंगी नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान पनि चलाएको छ ।


Facebook Comments