रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bc21a0d99cd.png

रामेछाप । जिल्लाको रामेछाप नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बालमैत्री शासनयुक्त नगर घोषणा गरेका हुन् । 

बालबालिकाको विकास, सहभागिता, संरक्षण, संस्थागत विकासका ५१ वटा सूचक पार गरिएकाले बाल श्रम, बाल विवाहमुक्त स्थानीय शासनयुक्त नगर घोषणा गरिएको त्यस अवसरमा जानकारी दिइयो ।  
 
नगरमा रहेका सात हजार ८८ घर तथा ३६ हजार छ सय २१ जनसङ्ख्या रहेका छन् । त्यसमा १७ हजार चार सय ९३ महिला र १९ हजार एक सय २८ पुरुष रहेका छन् । त्यसमध्ये १८ वर्षमुनिका १० हजार दुई सय ४१ जना बालबालिका सबै समस्याबाट मुक्त रहेकाले यस्तो घोषणा गरिएको नगरप्रमुख लवश्री न्यौपानेले जानकारी दिए ।  

उनका अनुसार समुदायस्तरमा ८३ र विद्यायस्तरमा ३० गरी कुल ११३ तथा वडास्तरमा नौ र नगरस्तरमा एक गरी १० वटा बाल सञ्जालमा गरी दुई हजार ४२ जना बालबालिका आबद्ध छन् । यस्तै, वडा तथा नगरस्तरमा गठन भएका विभिन्न समिति तथा संरचनामा १७० बालबालिकाको सार्थक सहभागिता रहेको छ ।   

बागमती प्रदेशका बालमैत्री स्थानीय शासनयुक्त नगरमध्ये यो १२औं स्थानमा परेको छ । 


Facebook Comments