रौतहटमा बो*क्सीको आरोपमा महिलामाथि अमानविय व्यवहार, टाउको मुण्डन गरी मलमुत्र खुवाइयो

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68be6988d1f3a.jpg

रौतहट। रौतहटमा बोक्सीको आरोपमा एक महिलामाथि अमानवीय व्यवहार गरिएको छ।

 गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियामा बसोबास गर्ने रामएकवाल साह बानियाकी ५५ वर्षीया श्रीमती सुशिला देवीलाई छिमेकीहरुले निर्घात कुटपिट गर्दै कपाल खौरीएर मानव मलमूत्र खुवाएको घटना सार्वजनिक भएको छ ।

 स्थानीय ४० वर्षीय दिनेश साह कानु, उनका छोरा २२ वर्षीय गोलु साह कानु र ३५ वर्षीय विक्रम साह कानु लगायत मिलेर आइतवार सुशिला देवीमाथि बोक्सीको आरोप लगाउँदै सामुहिक कुटपिट गरेका हुन् । घटनाको सुरुवात बिहान भएको हो, जब दिनेश साह कानुकी श्रीमती ३७ वर्षीया संगिता देवी अकस्मात बिरामी परिन् ।

उनलाई उपचारका लागि गरुडास्थित रोमा अस्पताल पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्ज लैजाने क्रममा दिउँसो २ बजे बाटोमै मृत्यु भयो ।

संगिता देवीको मृत्युका लागि छिमेकी सुशिला देवीले टुनामुना गरेको आरोप लगाउँदै मृतकको परिवारजनले आक्रोश पोख्दै सुशिला देवीलाई कुटपिट मात्र होइन, कपाल काटेर मलमूत्र समेत खुवाएका हुन् ।

घटना बारे जानकारी पाउना साथ दिउँसो करिब ३ बजे प्रहरी टोली घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय गरुडाका सई ज्ञानेन्द्र ढकालको कमाण्डमा पुगेको टोलीले पीडित महिलालाई उद्धार गरेको हो । तर, कुटपिटमा संलग्न तीनै जना भने घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ ।

पीडित परिवारले दोषीलाई तत्काल पक्राउ गरी कडा कार्बाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीका अनुसार घटनाको पुष्टि गर्दै बोक्सीको आरोपमा कुटपिट गर्ने ७ जनामाथी पीडितको तर्फबाट जाहेरी परेको छ। 

घटना लगतै पीडकहरु सबैजना घर छोडेर फरार भएकाले उनीहरूको खोजी तथा घटना बारे थप अनुसन्धान भइरहेको डिएस्पी कार्कीले जानकारी दिएका छन्।

 


Facebook Comments