शान्ति सुरक्षाको माग गर्दै अनिश्चितकालीन यातायात बन्दको घोषणा


काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । भदौ २३ गते ’जेन जिन’ समूहको प्रदर्शनमा भएको सरकारी दमनमा १९ जना विद्यार्थीको मृत्यु भएपछि शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म यातायात नचलाउने निर्णय गरिएको महासंघले जनाएको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । महासंघले सरकारसँग घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गर्दै आफ्ना सबै सदस्य संस्थालाई सहयोगका लागि अनुरोध गरेको छ ।
हाल काठमाडौं उपत्यकासहित देशभर जनजीवन प्रभावित भएको र विभिन्न स्थानमा कफ्र्यू आदेश जारी भएकोले यातायात सञ्चालन गर्न असहज भएको महासंघको भनाइ छ । यसैले, सरकारबाट शान्ति सुरक्षाको सुनिश्चितता नभएसम्म यात्रुवाहक र मालवाहक सवारी साधनहरू सञ्चालन नगर्न महासंघले आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ ।
Facebook Comments