राज्य मूकदर्शक बन्दा सरकारी निकाय जले : सांसद गिरी

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c13f85f1415.jpg

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्रीको राजीनामापछि पनि सरकारी निकायहरूमा लगातार आगजनी हुँदा राज्यका जिम्मेवार निकायहरू मूकदर्शक बनेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सांसद गिरीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘देशमा सुशासन कायम होस् र युवाले देशमै सम्मानित जीवन जिउन सकून् भनी नयाँ पुस्ता शान्तिपूर्ण आन्दोलनमा आएको थियो ।’ तर, भदौ २३ गते स्वार्थी समूहको घुसपैठका कारण आन्दोलन भड्किएको र सुरक्षा निकायको सतर्कता र संयमता नदेखिएको उनको भनाइ छ ।

आन्दोलनमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले भने, ‘जेन जी बालकले जीवनका रंगीन सपना देख्नुपर्ने उमेरमा सडकमा प्राण गुमाउनुको पीडा सिंगो राष्ट्रको साझा पीडा हो ।’

उनले प्रधानमन्त्रीको राजीनामापछि पनि सिंहदरबार, संसद् भवन, अदालत, राष्ट्रपति भवन, अख्तियार, प्रहरी कार्यालय, कारागार, अस्पताल, बैंक र निजी सम्पत्तिहरू छानीछानी जलाइएकोमा चिन्ता व्यक्त गरेका छन् ।

सांसद गिरीले यो परिस्थितिलाई नेपालको हित नचाहने विदेशी शक्ति र अपराध गरेर उम्किन खोज्ने तत्त्वहरूले अवसरको रूपमा प्रयोग गरेको बताएका छन् । उनले नयाँ पुस्तालाई लोकतन्त्रसहितको समृद्ध नेपाल चाहिएकोमा जोड दिएका छन् ।


Facebook Comments