‘आगजनी र लुटपाटले न्यायपालिकामाथि प्रहार, संयमता अपनाऔं’

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c147ad81bef.jpg

काठमाडौं । नेपाल बार एसोसिएसनले देशभर भएका हिंसात्मक गतिविधि, आगजनी र लुटपाटका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । बारले एक विज्ञप्ति जारी गर्दै आम नागरिकको जीउधन र राष्ट्रिय सम्पत्तिको रक्षा गर्न सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ ।

बारका महासचिव केदारप्रसाद कोइरालाले विज्ञप्तिमा मङ्गलबार बार भवन, सवारीसाधन, सर्वोच्च अदालत र अन्य अड्डा–अदालतहरूमा भएको आक्रमणको कडा शब्दमा भत्र्सना गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘देशभरिका अदालत र बार एकाइहरूमा गरिएको आगजनी, तोडफोड र लुटपाटले हामीलाई मर्माहत र स्तब्ध बनाएको छ ।’

विशेषगरी सर्वोच्च अदालतसहितका ऐतिहासिक भवन र दस्तावेजहरूमा पुगेको अपूरणीय क्षतिलाई नेपाली न्यायिक इतिहास र मौलिक परम्परामाथिको प्रहारका रूपमा हेरिएको छ ।

कानुन व्यवसायीहरूको निजी आवास, कार्यालय र सम्पत्तिमाथिको तोडफोडको पनि निन्दा गर्दै बारले अधिवक्ता अजयशङ्कर झाको घरमा भएको आगजनी र लुटपाटले आम नागरिकको सुरक्षामा गम्भीर चुनौती थपेको जनाएको छ ।

बारले परिस्थितिलाई थप अराजकता र मुठभेडतर्फ लैजान नदिन सम्पूर्ण समाजलाई संयमता अपनाई विवेक नगुमाउन अनुरोध गरेको छ । विज्ञप्तिमा ‘आपसी वार्ता, मेलमिलाप र सहिष्णुताले मात्र प्रणाली सुदृढ हुन्छ’ भन्ने कुरामा जोड दिइएको छ ।

बाँकी रहेका महत्त्वपूर्ण दस्तावेज र अभिलेखहरूको सुरक्षा गर्न बार एकाइ र सम्बन्धित निकायहरूलाई आग्रह गर्दै बारले न्यायपालिकामा सुधार आवश्यक भए पनि त्यस्तो सुधार राष्ट्रिय र अन्तर्राष्ट्रिय मूल्यमान्यताअनुसार हुनुपर्नेमा जोड दिएको छ ।


Facebook Comments