बोल्न थाले दोस्रो पुस्ताका नेताहरु–माफी माग्दै जेनजीलाई दिन थाले सुझाव

आफ्ना नेता कार्यकर्तालाई नयाँ ढंगले सोच्न आग्रह

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c14ad180150.png

काठमाडौं । भदौ २३ गतेको जेनजी आन्दोलनपछि शीर्ष दलका नेताहरु आजदेखि बोल्न थालेका छन् । आज बिहानैदेखि नेकपा एमाले, माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका दोस्रो पुस्ताका नेताहरु सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्न थालेका हुन् । 

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरुद्धमा भएकाे २३ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि उक्त दिन १९ जना आन्दोलनकारीको मृत्यु भएको थियो । उक्त घटनापछि दोस्रो दिन भदौ २४ गते आन्दोलनले अझ उग्र रुप लियो । २४ गते बिहानैदेखि देशभर मन्त्री, नेता, मुख्यमन्त्री, स्थानीय तहका जनप्रतिनिधिहरुको घरमा आगो लगाउने, नेताहरुलाई कुटपिट गर्ने कार्य भएको थियो । दिउँसोसम्म संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत काठमाडौं, पोखरासहित देशभरका सरकारी कार्यालयहरु जलाउने र तोडफोड गर्ने काम भयो ।

प्रधानन्त्रीले राजीनामा दिएपछि पनि आक्रमण र तोडफोड रोकिएन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री समेत रहेकी देउवाकी पत्नी आरजु राणा देउवामाथि कुटपिट भयो । नेकपा एसका नेता झलनाथ खनालको घरमा लगाएको आगोमा परि उनकी श्रीमती गम्भीर घाइते भइन् । अन्य नेता, प्रहरीमाथि समेत आक्रमण भयो । बुधवार समेत केही मानिसको मृत्यु भएको छ । 

आन्दोलनले उग्र रुप लिन थालेपछि नेताहरु आफ्नो ज्यान जोगाउन तिर लागेका थिए । अघिल्लो दिनसम्म विभिन्न कार्यक्रम तथा सामाजिक सञ्जालमार्फत नै जेनजी आन्दोलनका विषयमा अनेक धारणा राखिरहेका नेताहरु बुधवार चुपचाप थिए । आफ्नै ज्यान बचाउन हम्मेहम्मे परेको थियो । बिहीवार बिहानदेखि प्रदर्शन साम्य भएको महशुस हुन थालेपछि नेताहरुले सामाजिक सञ्जालको माध्यमबाट आफ्नो धारणा राख्न थालेका हुन् । 

नेकपा एसका महासचिव घनश्याम भुसालले फेसकुबमार्फत जेनजीलाई वारेस बनाएर मुलुककाे लोकतन्त्र र राष्ट्रिय हितमाथि खतरा थोपरिएको बताएका छन् । भुसालले राजनीतिलाई असाधारणरुपले प्रतिक्रान्तिकारी दिशामा लैजाने, आफूहरुले आर्जेको राजनीतिक तथा संवैधानिक व्यवस्थाहरुलाई भत्काउने र असफल मुलुक घोषणा गर्ने प्रयास भइरहेको उल्लेख गरे ।

उनले आफ्नो पुस्ताका नालायकीप्रति आफू लज्जित भएको भन्दै माफी समेत मागेका छन् । भुसालले सरकारले गरेको नरसंहार र प्रधानमन्त्री ओलीको नालायकीको पराकाष्टालाई बहाना बनाएर देशभरिका सार्वजनिक सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनीका घटना भए, ती जनताको स्वतस्फुर्त आक्रोशले मात्रै नभएको समेत बताएका छन् । 

भदौ २३ गते नरसंहारले मुलुकलाई फेरि अर्को चरणको ‘नियन्त्रित अस्थितरता’ तर्फ धकेलेको उनको भनाई छ ।

नेपाल अब फेरि उथलपुथलको नयाँ श्रृङ्खलामा प्रवेश गरेको भन्दै भ्रष्टाचार विरुद्ध उठेका युवा आन्दोलनकारीबाट आन्दोलनकै अपहरण भएपछि हिजोको अवस्था सिर्जना भएको भुसालले उल्लेख गरेका छन् । उनले पर्दा पछाडिका शक्तिहरु नेपाललाई युक्रेन, लिबिया वा बङ्गलादेश बनाउने प्रयास गर्दैछन् भन्ने विषयमा ख्याल नराख्नु आफूहरुको पुस्ताको नालायकी पन भएको बताएका छन् ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले देशको वर्तमान असामान्य परिस्थितिलाई मध्यनजर गर्दै नयाँ ढंगले सोच्न सबैलाई आग्रह गरेका छन् ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले पनि पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने बताएका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत पछिल्लो घटनाक्रमले देश र समाज भयानक अस्थिरतामा गएको भन्दै विकसित घटनाहरूलाई राम्रोसँग विश्लेषण गरेर भएका कमजोरीको समिक्षा गर्नुपर्ने बताएका हुन् । उनले १० वटा बुँदामा आफ्ना पार्टीका नेता, कार्यकर्तालाई सुझाव समेत दिएका छन् । 

त्यसैगरी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जस्तोसुकै कठिन  परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य मान्यता, सामाजिक  न्याय, विधिको  शासन  र रूपान्तरणकारी  आन्दोलनप्रति  अविचलित  रहन  पार्टीका सम्पूर्ण  नेता, कार्यकर्तामा आग्रह गरेका छन् । उनले जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कार्बाही गर्नुपर्ने समेत उल्लेख गरेका छन् । 

विगतबाट शिक्षा लिँदै प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउने दिशामा सबै अघि बढ्नु अहिलेको आवश्यकता भएको समेत पोखरेलको भनाइ छ ।


Facebook Comments