कारागारबाट टोपबहादुर रायमाझी पनि फरार


काठमाडौं । देशभर चलेको जेनजी आन्दोलनको आडमा सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् ।
मंगलबार राति नख्खु कारागारबाट आएका कैदीबन्दीको समूहले आगजनी गर्ने चेतावनी दिएपछि उनीहरू कारागारबाट बाहिर निस्किएको केन्द्रीय कारागारका एक अधिकृतले बताएका छन् ।
फरार हुनेमा भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेक नारायण पाण्डे पनि छन् ।
कारागार स्रोतका अनुसार, भागेकामध्ये १०० जना महिला कैदीबन्दी बुधबार फर्किएका छन् । केन्द्रीय कारागारमा कुल ३ हजार ८ सयभन्दा बढी कैदीबन्दी थिए ।
पूर्व गृहसचिव पाण्डेले कारागार प्रशासनलाई आफू आगजनीको डरले बाहिर निस्केको र फर्किन तयार रहेको जानकारी दिएका छन् । कारागारका एक अधिकृतले पाण्डे सम्पर्कमा रहेको पुष्टि गरेका छन् ।
तर, सोही प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी भने अझै कारागार प्रशासनको सम्पर्कमा आएका छैनन् ।
Facebook Comments