अखण्डता जोगाउन सबै संवेदनशील बनौँ : वामदेव गौतम
मेयरसाप डेस्क
|
२०८२ भदौ २५ गते २२:२४
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले देशमा उत्पन्न राजनीतिक समस्या समाधानका लागि संविधानलाई नै मार्गदर्शक बनाउनुपर्ने बताएका छन् ।
आज एक सन्देश जारी गर्दै उनले संविधानभन्दा बाहिरबाट खोजिने कुनै पनि समाधान दीर्घकालीन हुन नसक्ने उल्लेख गरेका छन् ।
राज्यका सबै संरचना अस्तव्यस्त भएको वर्तमान अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र निजामती कर्मचारीलाई देशलाई सही दिशानिर्देश गर्ने जिम्मेवारी रहेको गौतमको भनाइ छ ।
उनले नेपाली भूमिको रक्षा, जनताको रक्षा र सार्वभौमिकताको रक्षाका लागि सबै निकायलाई आग्रह गरेका छन् ।
गौतमले देशको राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सबैलाई संवेदनशील हुन आग्रह गर्दै भनेका छन्, ‘जब राज्य कमजोर हुन्छ सबै आधार कमजोर हुन्छन्, त्यस्तो अवस्थामा कि राज्य टुक्रिन्छ कि देश विदेशीको कब्जामा जान्छ ।’
उनले जनताको आर्थिक विकास र समृद्धिको चाहना पूरा गर्न सम्बन्धित निकायले ढिलासुस्ती गर्न नहुनेमा पनि जोड दिएका छन् ।
Facebook Comments