कांग्रेसले कार्यकर्तालाई भन्यो–कानुनी शासन र लोकतन्त्रको विकल्प छैन, एकजुट भइ भरोसा जगाउनु

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/congress.jpg

काठमाडौं । नेपाली काग्रेसले आफ्ना नेता कार्यकर्तालाई एकजुट भई आत्मविश्वास र भरोसा जगाउन आग्रह गरेको छ । पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले आज प्रेस विज्ञप्ति जारी गर्दै कानुनी शासन र लोकतन्त्रको विकल्प नभएकाले सबैलाई एकजुट भई आत्मविश्वास र भरोसा जगाउन आग्रह गरेको हो ।

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य नेताहरूमाथि भएको साङ्घातिक आक्रमणको घोर निन्दा तथा भत्सर्ना समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “धेरै युवा र केही सुरक्षाकर्मिहरूले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैका लागि अत्यन्त दुखदायी छ । मृतकहरूमा श्रद्धाञ्जली अर्पण गर्दछु ।” घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै उनले विरोध प्रदर्शन क्रममा भएको धनजनको ठूलो क्षतिप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् ।

कांग्रेसले लोकतन्त्र र संविधानप्रती प्रतिबद्ध अन्य  दलहरूसँग तत्काल संवाद गर्न आवश्यक रहेको जनाएको छ । शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिको अगुवाईमा हुने संवाद र पहलमा कांग्रेसले सक्रिय पहल गर्न आवश्यक रहेको जनाएको छ । 
    
मङगलबार देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको उल्लेख गर्दै पार्टीले देश, जनता र लोकतन्त्र प्रती प्रतिबद्ध नवयुवाहरूले अवश्य पनि यस्तो नचाहेको जनाएको छ ।

            


Facebook Comments