‘राष्ट्रिय सरकार गठन गरौं, नेताहरूले राजीनामा दिउन्’

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते ०८:५६
Image of https://mayorsap.com/storage/photos/10/68c2619889837.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रदीप पौडेलले देशमा उत्पन्न विषम परिस्थितिको समाधानका लागि संवैधानिक बाटो र राष्ट्रिय मेलमिलापको आह्वान गरेका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न माग गरेका छन् ।

पौडेलले भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनमा भएको बल प्रयोगको निन्दा गरेका छन् । उनले शान्तिपूर्ण प्रदर्शनको आडमा सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्ने समूहको पनि कडा शब्दमा भत्र्सना गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेता र राष्ट्रसेवकहरूमाथि भएको आक्रमणको निन्दा गर्दै उनले सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

युवाहरूले उठाएका भ्रष्टाचार र कुशासनविरुद्धका आवाजहरू जायज भएको स्वीकार गर्दै पौडेलले यस संकटलाई राष्ट्रिय पुनर्जागरणको अवसर मा परिणत गर्नुपर्ने बताएका छन् ।

उनले राजनीतिक र संवैधानिक शून्यताबाट देशलाई बचाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

यसका लागि उनले पार्टी नेतृत्वले राजीनामा दिई ६ महिनाभित्र महाधिवेशन गर्न र देशलाई निकास दिन नेपाली कांग्रेसले तत्काल बैठक बोलाउनुपर्ने माग गरेका छन् । उनले राष्ट्रपतिको संवाद पहललाई पनि स्वागत गरेका छन् ।


Facebook Comments