हराएकी बालिका साढे ६ महिनापछि घर फर्केपछि...
मेयरसाप डेस्क
|
२०८२ भदौ २६ गते ०८:४६
रुपन्देही । गत चैत २२ गते रुपन्देहीको दोगहराबाट बेपत्ता भएकी एक ७ वर्षीया बालिका साढे ६ महिनापछि भारतको विहारबाट उद्धार गरिएको छ । ‘किन इन्डिया’ नामक संस्थाले बालिकाको उद्धार गरी उनको परिवारसँग पुनर्मिलन गराएपछि परिवारमा खुसी छाएको छ ।
स्थानीय नवदुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत बालिकालाई एक अपरिचित महिलाले अटोरिक्सामा बोलाएर लगेकी थिइन् । त्यसपछि परिवारले प्रहरीमा खोजीका लागि निवेदन दिए पनि बालिका फेला परेकी थिइनन् ।
‘किन इन्डिया’का प्रतिनिधि नवीन जोशीका अनुसार, बालिका हराएको सूचना पाएपछि भारतीय एजेन्सी, प्रहरी र दूतावाससँगको समन्वयमा खोजी सुरु गरिएको थियो ।
सबै कानुनी प्रक्रिया पूरा गरी बालिकालाई प्रहरी र वडा कार्यालयको रोहबरमा परिवारलाई बुझाइएको हो । सामाजिक अभियन्ता ज्ञानु पौड्यालले बालिका घर फर्किंदा परिवार निकै खुसी भएको बताएकी छन् ।
उनले नेपाल–भारतको खुला सीमाका कारण मानव बेचबिखनको जोखिम बढेको भन्दै यस्ता घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएकी छन् । साथै, उनले अभिभावकलाई आफ्ना बालबालिकाको ख्याल राख्न र सचेत हुन आग्रह गरेकी छन् ।
सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादवले ‘किन इन्डिया’को अथक प्रयासबाट बालिका घर फर्किन सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।
Facebook Comments