तातोपानीमा बाढीले एक रेष्टुरेन्ट पुरियो, घर र सडकमा क्षति
मेयरसाप डेस्क
|
२०८२ भदौ २६ गते ०३:१४
म्याग्दी । म्याग्दी जिल्लाको बेनी नगरपालिका–४, सिङ्गा तातोपानीमा आज बिहान लेतेखोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीले एक रेष्टुरेन्ट पूर्ण रूपमा पुरेको छ भने दुईवटा घर, सामुदायिक भवन र मन्दिरमा पनि क्षति पुगेको छ ।
स्थानीय प्रेम श्रीसले सञ्चालन गरेको ‘श्रीस होटल’ बाढीले पुरिएको वडाध्यक्ष अणबहादुर खड्काले जानकारी दिए । बाढीका कारण स्थानीय मनकुमारी कार्की र सोविता कार्कीको घरभित्र पनि पानी पसेको छ । यस्तै, तातोपानी कृषि सहकारी संस्था र भगवती मन्दिरभित्र पनि बाढी पसेको छ ।
बाढीले मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पनि अवरुद्ध भएको छ । बाढी आउन थालेपछि स्थानीय बासिन्दाहरू भागेर ज्यान जोगाउन सफल भएका छन् ।
अहिले जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासी मिलेर डोजरको सहायतामा बाढी नियन्त्रणको प्रयास गरिरहेका छन् । बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयले दुईवटा डोजर परिचालन गरेका छन् ।
Facebook Comments