राष्ट्रिय सरकार गठन गरौं, संविधानको रक्षा गरौं : बार एसोसिएसन

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते २२:५८
Image of https://mayorsap.com/storage/photos/10/68c2c266b39af.jpg

काठमाडौं । नेपाल बार एसोसिएसनले देशमा उत्पन्न राजनीतिक अनिश्चितता अन्त्य गर्नका लागि संवैधानिक प्रक्रियाअनुसार राष्ट्रिय सरकार गठन गर्न माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै बारले जनतामा विश्वास जगाउन र शासन व्यवस्थालाई सुचारु राख्न यस्तो आग्रह गरेको हो ।

बार एसोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आन्दोलनकारी शक्तिले सरकार परिवर्तनको इच्छा राखेका छन् र यसको प्रक्रिया सुरु भइसकेको छ । यस परिप्रेक्ष्यमा संविधानको धारा ७६, ७७, ७८ र ६१ को मर्म र भावनाभित्र रहेर संवैधानिक वैधता कायम हुने गरी अविलम्ब राष्ट्रिय सरकार गठन गर्न हामी आग्रह गर्दछौं।”

विज्ञप्तिमा, नेपाल बारले संविधानसभाले बनाएको संविधान अहिले पनि मौजुद रहेको, प्रतिनिधिसभा क्रियाशील रहेको र आन्दोलनकारीको माग पनि व्यवस्था परिवर्तन नभएको भन्दै संवैधानिक संरचनाहरूको रक्षा गर्नुपर्नेमा जोड दिएको छ ।

बारले लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशी जस्ता लामो संघर्षबाट प्राप्त उपलब्धिहरूमा कुनै पनि किसिमको सम्झौता मान्य नहुने चेतावनी दिएको छ । यदि यी मूल्य–मान्यता विपरीत कार्य भएमा प्रतिरोध गर्न बाध्य हुने पनि बारले स्पष्ट पारेको छ ।


Facebook Comments